माघ १८ — उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठूलो परिमाणमा क्लिङ्कर हिनामिना गरी राज्यलाई करिब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आ.व. २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्म उद्योगको मौज्दातमा ३८,७६९ मेट्रिक टन क्लिङ्कर घटी देखिएको छ। महालेखा परीक्षक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिवेदनपछि भएको अनुसन्धानले उत्पादनभन्दा बढी खपत देखाएर अनियमितता गरिएको निष्कर्ष निकालेको हो।
सबैभन्दा बढी हिनामिना २०७७ साउनदेखि पुससम्म भएको देखिएको छ, जहाँ मात्र २६ हजार मेट्रिक टनभन्दा बढी क्लिङ्कर कमी देखिएको छ।
आरोपितहरूमा तत्कालीन महाप्रबन्धक, निमित्त महाप्रबन्धक, नायब महाप्रबन्धक तथा उत्पादन, भण्डार, बिक्री र प्राविधिक विभागका प्रमुखहरू छन्। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना र कैद सजायको माग गरेको छ।
उच्च पदमा रहेर कसुर गरेको भन्दै केही प्रतिवादीविरुद्ध थप सजायको मागसमेत गरिएको छ।

