माघ १९,झापा —जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमार्फत मतदातासँग उनीहरूले कुन पार्टी, उम्मेदवार वा चुनाव चिह्नमा मतदान गर्ने भन्ने प्रश्न नगर्न सार्वजनिक आग्रह गरेको छ। यस्ता गतिविधिले मतदाताको गोपनीयता भङ्ग हुने भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईं र अञ्जन न्यौपानेद्वारा जारी विज्ञप्तिमा फेसबुक, युट्युब लगायतका प्लेटफर्म प्रयोग गरी मतदाताको रोजाइ सार्वजनिक रूपमा सोध्ने काम भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ। यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत भएको प्रशासनको भनाइ छ।
अनुगमन अधिकृत प्रसाईंका अनुसार मतदाताको गोपनीयता सुरक्षित राख्नु निर्वाचनको आधारभूत सिद्धान्त भएकाले यस्ता प्रश्न सोध्ने र प्रसारण गर्ने कार्य तत्काल रोक्न आग्रह गरिएको हो।
विज्ञप्तिमा चेतावनी दिँदै, यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। जिल्ला प्रशासनले सबै सञ्चारमाध्यम, अनलाइन प्लेटफर्म र सर्वसाधारणलाई निर्वाचन आचारसंहिता पालना गर्नसमेत अनुरोध गरेको छ।

