सबै भाषा राष्ट्रको सम्पत्ति हुन: प्रधानमन्त्री कार्की

1 Min Read

१९ माघ- प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रका अमूल्य सम्पत्ति भएकाले कुनै पनि भाषा लोप हुन दिन नहुने बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुई फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले भाषा संरक्षणमा सम्बन्धित सबै निकाय र समुदायले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मातृभाषा शिक्षासम्बन्धी अध्ययन प्रतिवेदन तथा अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेस गरेको थियो।

प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले नेपाल भाषिक रूपमा अत्यन्त समृद्ध मुलुक भएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो देशमा १२४ वटा भाषा छन्। यी सबै हाम्रा सम्पत्ति हुन्। तीमध्ये कतिपय भाषा लोप हुने अवस्थामा छन्, त्यसैले कुनै पनि भाषा मर्न दिनु हुँदैन। प्रत्येक भाषा उत्तिकै महत्त्वपूर्ण छन्।”
उहाँले भाषाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि निरन्तर अध्ययन, अनुसन्धान र नीतिगत पहल आवश्यक रहेको पनि बताउनुभयो।

Share This Article
Leave a Comment