माघ २४ – नेपाली कांग्रेस गण्डकी प्रदेशमा एक ढिक्का बनेको सन्देश दिएको छ। पार्टी सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेस नेताहरूसँग गरेको विस्तृत छलफलपछि यस्तो वातावरण बनेको बताइएको हो।
सभापति थापाले प्रदेशका ११ जिल्लाअन्तर्गत रहेका १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अवस्थाबारे समीक्षा गरेका थिए। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई विजयी बनाउन आवश्यक गृहकार्य र रणनीतिबारे सूक्ष्म ढंगले छलफल भएको नेताहरूले जनाएका छन्।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार बैठकमा प्रतिनिधिसभा उम्मेदवारहरूको अवस्था, नेता–कार्यकर्ताको भूमिका तथा चुनावी रणनीतिबारे विस्तृत छलफल भएको थियो। पार्टीभित्र देखिएका केही असन्तुष्टिहरूलाई पनि छलफलमार्फत पूर्वरूपमै समाधान गर्ने प्रयास गरिएको उनले बताए।
छलफलपछि नेताहरूमा नयाँ ऊर्जा थपिएको र पार्टी एकजुट भएर निर्वाचनमा होमिने वातावरण बनेको सुवेदीको भनाइ छ।
सभापति थापाले यसअघि मधेस प्रदेशका आठ जिल्लाका नेता–कार्यकर्तासँग जनकपुरमा पनि छलफल गरिसकेका छन्। आवश्यकता अनुसार अन्य प्रदेशमा पनि यस्तै चुनावकेन्द्रित भेटघाट र छलफललाई निरन्तरता दिइने जनाइएको छ।

