मतदान दिन सवारी सञ्चालनमा रोक, मादक पदार्थ बिक्रीमा पनि प्रतिबन्ध

1 Min Read

१४ फागुन- निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो।
मतदानको दिन एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षा निकायका सवारी, विद्युत् तथा खानेपानी मर्मत, दूरसञ्चार सेवा, कूटनीतिक नियोगका सवारी र आधिकारिक पास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित सञ्चालनमा रहनेछन्, र टिकट भएका यात्रुलाई आवतजावतका लागि विशेष व्यवस्था गरिनेछ।

यस्तै, मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मुलुकभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्राचार गरिएको छ। निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
यसैबीच, मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमति पत्रजस्ता आधिकारिक कागजातमध्ये कुनै एक अनिवार्य साथमा लिनुपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

Share This Article
Leave a Comment