महाकाली सन्धिमा आफ्नो भूमिका नभएको देवराज घिमिरेको स्पष्टोक्ति

1 Min Read

फागुन १५,झापा पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै सार्वजनिक स्पष्टीकरण दिएका छन्। विज्ञप्तिमार्फत उनले सन्धिसम्बन्धी बहसमा आफ्नो औपचारिक भूमिका नरहेको स्पष्ट पारेका हुन्।
घिमिरेले तथ्यपरक अध्ययन नगरी आरोप लगाउनु उपयुक्त नहुने उल्लेख गर्दै घृणामूलक राजनीतिक प्रवृत्तिबाट प्रेरित टिप्पणी नगर्न आग्रह गरेका छन्। केही दिनअघि सन्दर्भबाहिर प्रयोग गरिएको भिडियो अहिले एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबीसमेत उनले गरेका छन्।
सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको बताउँदै उनले कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पारे। लोकतान्त्रिक दलभित्र नीतिगत छलफलका क्रममा धारणा राख्नुबाहेक आफ्नो अन्य भूमिका नरहेको उनको भनाइ छ।
झापा क्षेत्र नं. २ का मतदाताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै घिमिरेले आफ्नो कार्यकालको मूल्याङ्कन गर्न तयार रहेको तथा त्रुटि भए स्वीकार गर्ने बताएका छन्।

Share This Article
Leave a Comment