आकाशमा भएको संवादःस्वदेश फर्कने सोच र प्रतिबद्धताको आधार

50 Min Read

म नेपालको सार्वजनिक प्रशासन सेवामा प्रवेश गर्नु पूर्वदेखि नै सार्वजनिक सेवामा देशको सेवा गर्ने क्रममा विविध भू-भागहरूको भ्रमण गर्नु मेरो जीवनको अभिन्न अङ्ग बन्दै आएको छ। भ्रमण मेरो लागि केवल आवश्यकता मात्र नभई एक प्रकारको बौद्धिक रुचि र आत्मिक तृष्णाको पर्यायसमेत बनेको छ। नयाँ स्थानहरूको भौतिक रूपमा पुगेर त्यहाँका जनजीवनका बहुआयामिक पक्षहरूको सूक्ष्म अवलोकन गर्नु, र ती अनुभवहरूलाई शासन तथा प्रशासनका व्यवहारिक आयाममा समायोजन गर्ने प्रयत्न गर्नु मेरो प्रमुख अभिप्राय रहने गर्दछ।यो औपचारिक वा अनौपचारिक दुवै हुन सक्छ। यस प्रक्रियाबाट प्राप्त हुने ज्ञान, अनुभूति र यथार्थपरक दृष्टिकोणले नीति निर्माण, योजना तर्जुमा तथा कानूनहरूको समयसापेक्ष परिमार्जनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुगेको मैले अनुभूति गर्दै आएको छु।

यस्तै सन्दर्भमा, संवत २०८२ सालको माघ महिनाको अन्तिम साता म नेपालको पूर्वी जिल्ला झापाको एक अनौपचारिक भ्रमणमा पुगेको थिएँ।उक्त भ्रमण विशुद्ध रूपमा व्यक्तिगत प्रकृतिको थियो। जहाँ म केवल एक मित्र मात्र नभई दाजुभाइसरहको आत्मीय सम्बन्धमा आबद्ध पारिवारिक भेटघाट तथा विवाह समारोहमा सहभागी हुन गएको थिएँ।

कार्यक्रम सम्पन्न भए पश्चात्, राजधानी काठमाडौं फर्कने उद्देश्यले झापा स्थित चन्द्रगढी विमानस्थलबाट हवाई यात्रा गर्ने मेरो योजना तय भयो। सोही यात्रा प्रक्रियाका क्रममा एक रोचक र विचारोत्तेजक संयोगिक घटना घट्न गयो।विमानस्थलको प्रतीक्षालयमा रहँदा मेरो दृष्टि एक महिला व्यक्तित्वतर्फ आकृष्ट भयो। उमेरले करिब ३५ देखि ४० वर्षको आसपास हुनसक्ने, डिग्निफाइड, आत्मविश्वासी तथा आधुनिक समाजप्रति सजग देखिने ती नारीको फोन संवाद गर्दै गरेको देख्दा र सुन्दा यीनमा साच्चै अनुभवको खानी होला जस्तो  प्रतित भयो। ती महिला करिब पाँच फिट अग्ली, गोरो वर्णकी, आदिवासी समुदायसँग सम्बन्धित देखिन्थिन। सामान्य ह्याण्ड क्यारी ब्याग बोकेकी, अत्यधिक श्रृङ्गार बिना तर सन्तुलित रूपमा गरिएको हल्का मेकअपमा सजिएकी, साधारण तर सुसंस्कृत कुर्तामा सजिएकी उहाँको समग्र व्यक्तित्वमा एक प्रकारको सहज गरिमा, आत्मनियन्त्रण र जीवनप्रतिको गहिरो अनुभूति झल्किरहेको देखियो। विशेषतःमुस्कानमा परिपक्वता र अनुभूतिपूर्ण जीवन यात्राको गहिरो कथा लुकेको आभास हुन्थ्यो।

मेरो स्वभावःअपरिचित व्यक्तिसँग तत्काल संवाद आरम्भ गर्ने प्रवृत्ति छैन। म मौन नै थिऐँ। यसबीच, यती एयरलाइन्सको विमान निर्धारित समयभन्दा केही ढिलो आगमन हुने सूचना जारी भयो। उहाँ एक्लै यात्रारत जस्तो देखिनुहुन्थ्यो उहाँसँग बोल्ने व्यक्ति वरपर कोही पनि देखिदैन्थे।

बोर्डिङ्ग प्रक्रिया सम्पन्न भयो। म सरासर आफ्नो सिट खोज्दै प्लेनमा चढेँ।उहाँ मभन्दा अगाडि नै झ्यालतर्फको सिटमा बस्नुभएको रहेछ। हाम्रो सिट एकै स्थानमा मेरो छेउमै, D4 नम्बरमा परेको रहेछ। करिब ५५ मिनेटको उक्त हवाई यात्राका क्रममा प्रारम्भ भएको सामान्य संवाद क्रमशः एक गहिरो, अर्थपूर्ण र प्रेरणादायी अन्तर्क्रियामा रूपान्तरण हुन पुग्यो। जसले मलाई यस अनुभूति शब्दमा उतार्न उत्प्रेरित गर्यो। यस यात्राको संस्मरणात्मक प्रस्तुतिले विदेशमा विभिन्न भूभागहरूमा छरिएर रहेका नेपाली डायस्पोरालाई समेत कुनै न कुनै सन्देश दिनसक्ने विश्वास मैले गरेको छु।

सामान्यतया, यात्रा गर्नु र यात्राका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ज्ञानार्जन गर्नु मेरो दैनिकीको अभिन्न अङ्ग हो। मलाई जीवन स्वयं एक निरन्तर यात्राजस्तो अनुभूत हुन्छ । जहाँ जन्म प्रारम्भ बिन्दु हो भने मृत्यु अन्तिम लक्ष्य। जीवन यात्राका क्रममा कहिलेकाहीँ यस्ता व्यक्तित्वहरूसँग भेट हुन्छ जसको स्मृति मनबाट सहजै मेटिन सक्दैन।यस्तै एक संयोगपूर्ण भेटका रूपमा मेरो यात्रामा भेटिएकी एक नेपाली नारीको व्यक्तित्व र उनको जीवन दृष्टिकोणबारे यात्रासंस्करण प्रस्तुत गरेको छु।

यत्तिकैमा विमानको परिचारिकाले यात्राविवरणको घोषणा गर्न थालिन्।यात्राको लाग्ने समय, काठमाडौंको टेम्प्रेचर, आपतकालीन द्वारहरू, अक्सिजन मास्क अनि यात्राको लागि शुभकामना आदि एयरलाइन्सको नियमित प्रक्रिया जो थियो।

सहजतावश मैले सोधेँ, “हजुरको यात्रा राजधानीसम्मकै हो म्याम?”

प्रश्न सोध्नु र नसोध्नुबीच खासै अन्तर थिएन। किनकि त्यो उडान स्वयं राजधानीतर्फ गइरहेको थियो। तर पनि उहाँले सरल मुस्कानसहित उत्तर दिनुभयो “हजुर हो।”

उहाँले प्रतिप्रश्न गर्नु भयो मलाई अनि“हजुरको सर?”

“मेरो पनि राजधानीसम्मकै हो म्याम।”

मलाई थप प्रश्न गर्दै सोध्नु भयो “हजुरको शुभनाम?”

“मेरो नाम गोकुल,” मैले उत्तर दिऐँ।  

अनि हजुरको शुभनाम म्याम ? मैले प्रश्न गरेँ।  

उहाँले मुस्कुराउँदै भन्नुभयो, “मेरो नाम भुमा हो, हजुर। म झापामा जन्मिएकी हुँ। घरचाहिँ मिकालाजुङ टाँडी भन्ने ठाउँमा पर्छ। तर  नौ वर्षभन्दा बढी भयो।म क्यानडामा बस्दै आएकी छु। मेरो परिवार पनि क्यानडामा छ। धेरै समयपछि आफ्नै जन्म भूमि नआईकन बस्न सकिँदोरहेनछ। निर्वाचनमा मतदान गर्न, आफ्ना आफन्त, साथीसंगी र सम्बन्धित सबैलाई भेट्न, सम्बन्धहरूलाई पुनः नविकरण गर्न, र ताजा सम्झनाहरू मनभरि साँचेर पुनः कर्मभूमि फर्किने अभिप्रायले म नौ वर्षपछि नेपाल आएकी हुँ, सर। खासमा मेरो आमाको उमेर पनि निकै भयो। अनि विरामी पनि हुनुहुन्छ त्यसैले म नेपाल फर्किएकी हुँ।” उहाँले यी सबै कुरा एकै सासमा सुनाउनु भयो।उहाँका शब्दहरू सरल थिए। तर भावनाले गहिराई बोकेका मनभरी माटोको माया, स्वदेश प्रतिको श्रद्धा, र आफ्नो परिवेश छोडेर अवसर र उज्ज्वल भविष्यको खोजीमा परदेशिनु पर्दाको मौन पीडा भएको मैले अनुमान गरेँ। ओठमा हल्का मुस्कान थियो तर आँखाभरी भावनाका तरंगहरू मोतिका दाना झर्न थालेको स्पष्ट देखिन्थे।उहाँको आवाजमा गहिरो भावुकता अनि छातिमा केही अल्झिएर गाँठो परेको जस्तै गरी बोल्दा बोल्दै चुप हुनु भयो।केही क्षणपछि उहाँ मसँगको संवादबाट टाढिँदै झ्यालतिर फर्किनुभयो। सायद उहाँ आफ्नै देशको आकाश, माटो र स्मृतिसँग निःशब्द संवाद गरिरहनुभएको थियो।जहाँ शब्दहरूभन्दा पनि भावना गहिरो थियो।मसँग उहाँले झर्नै लागेको आँसु लुकाउनु भयो।नेपाल प्रति उहाँको असीम मायाको प्रतिविम्ब आखाँमा छल्किए पनि मबाट भने लुक्दै हुनुहुन्थ्यो।यो देशप्रेम भन्ने कुरा पनि आफूभन्दा माथि हुने रहेछ।अजिवको हुँदोरहेछ।कोही कहिले जाउँ भनेर भौतारिएका यूवा देखिन्छन् उहाँ भने स्वेदश प्रतिको भावनाले भरिएको पाऐँ।  

उहाँलाई सहज महसुस होस् भन्ने उद्देश्यले मैले पुनः जिज्ञासा राखेँ “हजुरले क्यानडामा स्थायी बसोबासको अनुमति (पी.आर.) लिनुभयो कि छैन?  कि नागरिकतानै लिनुभइसक्यो? घर किनि सक्नु भयो की ?”

उहाँले शान्त, आत्मविश्वासले भरिएको स्वरमा उत्तर दिनुभयो। “हैन नि, हजुर।घर लिनुभन्दा पनि मैले आफ्नै रेष्टुरेन्ट व्यवसाय गरेको छु। मैले पी.आर. प्राप्त गरेकी छु। मेरो आफ्नै रेष्टुरेन्ट व्यवसाय छ। मेरो छोरा पढ्दै छ। छोरो पनि अहिले पन्ध्र वर्ष पुगिसकेको छ।उहाँका शब्दहरू क्रमशः विस्तारिँदै गएका थिए।मेरो व्यवसायमा धेरै नेपाली, भारतीय तथा अन्य विदेशी विद्यार्थीहरूलाई पनि रोजगारी दिएको छु। त्यहाँ श्रमको मूल्य समयअनुसार निर्धारण हुन्छ। प्रत्येक आवर्ली हिसाबले पारिश्रमिक दिनुपर्छ। त्यहाँको नेपाली समुदायले प्रायः सबैले मलाई चिन्नुहुन्छ। म न्यूफाउन्डल्याण्ड एण्ड ल्याब्राडोर माउन्ट पर्लमा रेष्टुरेन्ट एण्ड बार व्यवसाय सञ्चालन गर्दै आएको छु। नेपाली तथा स्थानीय समुदायका प्रायः कार्यक्रमहरूमा मेरो संलग्नता रहिरहन्छ। धेरैले मलाई ‘सेफ भुमा दिदी” भनेर सम्बोधन गर्नु हुन्छ।मलाई दिदी भनेर बोलाउनेहरूले साँच्चिकै दिदिकै हैसियतमा व्यवहार गर्नुहुन्छ।यसले मलाई आनन्दित बनाउँछ। यति भनिसकेपछि उहाँको अनुहारमा एक सन्तुष्ट, आत्मीय मुस्कान झल्कियो। जस्तो कि परदेशमा आफ्नै पहिचान निर्माण गर्न सफल व्यक्तिको गौरवपूर्ण भावना साट्दै हुनुहुन्थयो।

मैले सोधेँ “हजुर अहिले राजधानी आउनु पर्नाको प्रयोजन के छ म्याम? निर्वाचन आउन त अझ समय बाँकी नै छ नि की फर्कन लाग्नु भएको ?”

उहाँले स्पष्ट पार्नुभयो हो हजुर। मैले डाक्टरसँग समय लिएकी छु।एभरेष्ट हस्पिटल नयाँ बानेश्वरमा स्वास्थ्य परीक्षण गराउन आएकी हुँ। काठमाडौंमा केही आफन्तहरू हुनुहुन्छ।उहाँहरूलाई भेटेर दुई चार दिनमै फर्किने योजना छ।उहाँका वाक्यहरूमा जीवनको व्यवस्थित लय थियो कर्तव्य, पेशा, परिवार र सम्बन्धहरूबीच सन्तुलन मिलाउँदै अघि बढिरहेको एक सशक्त नारीको कथा। उहाँ नेपाल देखि धेरै पर रहेको क्यानडामा स्थापित भए पनि आफ्नो अवस्थलो बिर्सन नसक्ने, सम्बन्धहरूको नविकरण र मायाँ तथा मातृ भूमिप्रतिको अनुरागलाई सँगै बोकेर हिँड्ने उहाँको व्यक्तित्व, साँच्चै, एक प्रेरक आख्यान जस्तै अनुभूति हुन्थ्यो मलाई।

मैले संवादलाई निरन्तरता दिँदै जिज्ञासा राखेँ “अनि हजुरले नेपालमा प्राप्त गर्नुभएको शिक्षा र क्यानडाको व्यवसायबीच सन्तुलन मिलेको छ त म्याम ? हजुर आफ्नो कर्मभूमिमा सन्तुष्ट हुनुहुन्छ ?”

उहाँले केही क्षण गम्भीर हुँदै उत्तर दिनुभयो “हजुर, यसको कथा अलि लामो छ।

यदि हजुरलाई अप्ठेरो लाग्दैन भने म हजुरको पेशा वा व्यवसायबारे बुझ्न सक्छु, सर?”

मैले सहजतापूर्वक भनेँ किन नसक्नु हुन्छ नि। म नेपाल सरकारको सार्वजनिक सेवामा आवद्ध छु।

उहाँ अलिक अन्योलमा पर्नुभयो “मैले बुझिनँ, यसको अर्थ के हो?”

मैले स्पष्ट पारेँ “म पेशाले नेपाल सरकारको निजामती कर्मचारी हुँ। यसलाई “ब्यूरोक्रेसी”को एक सदस्य पनि भनिन्छ। सजिलो भाषामा भन्नुपर्दा सरकारी कर्मचारी। उहाँ तुरुन्तै उत्साह पूर्वक बोल्नुभयो “ए, त्यसो भए त पहिले नै सरकारी कर्मचारी हुँ भन्नु भएको भए हुन्थ्यो नि।कत्ति सम्मानित पेशामा हुनुहुँदो रहेछ नी।” उहाँको जिज्ञासा अझ गहिरिदै गयो ।

“हजुर कुन पदमा हुनुहुन्छ? अनि के कस्ता काम गर्नुपर्छ ?”

मैले आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै भनेँ “मेरो भूमिका मुख्यतः निर्णयकर्ताहरूलाई कानूनी राय प्रस्तुत गर्नु हुन्छ। यदि म कार्यरत निकाय कुनै मुद्दामा प्रतिवादी बनेको खण्डमा, त्यस सम्बन्धी लिखित प्रतिवाद तयार गरिदिनु पर्छ। साथै, महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकिलहरूको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अदालत र संसदसँग आवश्यक समन्वय गर्नु पनि मेरो जिम्मेवारीभित्र पर्छ।त्यसैगरी, म कार्यरत निकायको कार्यक्षेत्रभित्र पर्ने सार्वजनिक नीतिहरूलाई समयसापेक्ष बनाउने प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो धारणा सहितको मस्यौदा तर्जुमा गर्नु  पनि पर्छ। विशेषतः कानूनी दस्तावेजहरूको मस्यौदा तयार पार्ने, तथा अन्तर्गतका निकायहरूबाट आएका कानूनी जिज्ञासाहरूमा सहजीकरण गर्ने कार्यहरू पनि मेरो दैनन्दिन जिम्मेवारीका अभिन्न अंश हुन्।”

मेरो कुरा सुनेर उहाँ एकछिन सोच मग्न हुनुभयो। अनि गहिरो सम्मान भावकासाथ भन्नुभयो “अरे! यो त कत्ति ठूलो जिम्मेवारी रहेछ! आज त म साँच्चिकै धन्य भएँ हजुर जस्तो उच्च तहमा कार्यरत व्यक्तिलाई जीवनमा पहिलोपटक भेट्न पाएँ।” उहाँले फेरि आत्मीयतापूर्वक थप्नुभयो “तर साँच्चै, मलाई धेरै खुशी लाग्यो। म यसलाई हृदयदेखि नै प्रशंसा गर्छु।” मैले भनेँ म त्यस्तो उच्च तहमा छैन म्याम।

केही बेरपछि उहाँले अर्को प्रश्न गर्नुभयो “अनि हजुर उपत्यकामै बस्नुहुन्छ?”

मैले उत्तर दिएँ “हो, म काठमाडौं उपत्यकामै बस्छु, सिंहदरबारमै कार्यरत छु।”

उहाँ फेरि आफ्नो यथार्थतर्फ फर्किनुभयो “सर, नेपालका सरकारी कर्मचारीहरूको तलब साह्रै न्यून हुन्छ भन्छन्, के त्यो सत्य हो?”

मैले संयम स्वरमा भनेँ “अनुपातमा हेर्दा केही कम त अवश्यै छ विशेषतः अन्य देशहरूसँग तुलना गर्दा कम भएको पुष्टि भएको छ।”

संवाद यतिसम्म आइपुग्दा, हामीबीचको औपचारिक दूरी बिस्तारै पग्लँदै गएको थियो। प्रश्न र उत्तरहरूको यो आदानप्रदान केवल जानकारीको विनिमय मात्र थिएन; यसले दुई भिन्न जीवनपथमा हिँडेका व्यक्तिहरूबीच पारस्परिक सम्मान, जिज्ञासा र आत्मीयताको सूक्ष्म सेतु निर्माण गरिरहेको थियो।

उहाँको जिज्ञासा अझ प्रस्ट र गम्भीर हुँदै आयो “अनि, कसरी निजामती कर्मचारी हुन सकिन्छ, हजुर?”

मैले प्रष्ट पार्दै भनेँ “नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नका लागि न्यूनतम अठार वर्ष उमेर पूरा भएको हुनुपर्छ। सम्बन्धित पद र सेवा समूह अनुसार आवश्यक शैक्षिक योग्यता पुगेको हुनुपर्छ, र सामान्यतया चालीस वर्ष ननाघेका महिलाहरूले समेत यसमा प्रतिस्पर्धा गर्न सक्छन्। तर, यति मात्र पर्याप्त हुँदैन यसका लागि अथक मेहनत, धैर्यता, नियमित अध्ययन, र लोकसेवा आयोगद्वारा सञ्चालित प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ।”

केही क्षणपछि मैले आत्मीयतापूर्वक प्रतिप्रश्न गरेँ “अब हजुरकै कुरा सुनौँ न। करिब एक दशकपछि नेपाल फर्किँदा कस्तो अनुभूति भइरहेको छ? आफ्नो देश छोडेर लामो समय परदेशमा बिताएपछि फेरि यही माटोमा पाइला टेक्दा हजुरको मनले के भन्छ?” त्यो प्रश्न केवल औपचारिक जिज्ञासा थिएन; त्यो त एक गहिरो भावनात्मक ढोका खोल्ने प्रयास थियो।

जहाँ सम्झनाहरू, विगतका गन्धहरू, र मातृभूमिसँगको अदृश्य सम्बन्ध पुनः जीवित गराउनु मेरो मुख्य उद्देश्य थियो। सोही बमोजिम उहाँका भावनाहरू तँछाड मछाड गर्दै प्रस्तुत भइरहेका थिए।

उहाँले मलाई गहिरो सम्मान भावका साथ सम्बोधन गर्दै भन्नुभयो “सर, हजुर सार्वजनिक सेवामा आवद्ध हुनुहुन्छ, त्यसैले हजुर त सम्पूर्ण नेपाली नागरिकका वास्तविक संरक्षक र अभिभावक जस्तै हुनु हुँदो रहेछ।” त्यसपछि उहाँ आफ्नै जीवनको यथार्थतर्फ क्रमशः उन्मुख हुनुभयो। “मेरो जीवनको अनुभव पनि उही आम नेपाली नागरिकको भन्दा फरक छैन, तर प्रत्येक व्यक्तिको जीवनको कथामा आफ्नै विशिष्टता बोकेको हुन्छ।” उहाँले आफ्नो बाल्यकालको स्मृतिलाई सजीव बनाउँदै भन्नुभयो “मेरो माइतको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। अरूले चाउचाउ र अण्डा खाएको देख्दा, ‘कुनै दिन म पनि पैसा कमाएर पेटभरी चाउचाउ र अण्डा खान्छु भन्ने सानो तर गहिरो सपना मेरो मनमा पलाउँथ्यो। तर, अभावले धेरै इच्छाहरूलाई कुण्ठित बनाउँदो रहेछ।” उहाँको आवाज क्रमशः भावुक बन्दै गयो “त्यो समयमा हाम्रो परिवारमा बाबा, आमा, दुई जना दाजु, एक जना दिदी र म थियौँ। हामी दुई दिदीबहिनी माइतको नजिकै श्री बालनिकुञ्ज माध्यमिक विद्यालय, आँपटारीमा अध्ययनरत थियौँ। मेरो कान्छो दाजुले अथक परिश्रम गर्दै हामीलाई पढाइरहनु भएको थियो।एक दिन म विद्यालयबाट घर आएर घरको बरन्डामा अध्ययन गर्दै थिए।म अध्ययन गरिरहेको स्थानबाट दायाँ तर्फ किचेन थियो। ड्याडिले ममीलाई भन्नु भयो अब सानो बाबालाई पनि विद्यालयबाट निकाल्नु पर्छ।म त्यो शब्द आजका दिनसम्म पनि कानमा गुन्जिएको अनुभुत गर्छु। मेरो दिदीलाई ठुलोबाबा र मलाई सानु बाबा भनेर घरमा बोलाउने गर्दथे। विद्यालयबाट झिक्नुपर्छ। त्यो क्षण मेरो जीवनको अत्यन्तै संवेदनशील मोड थियो। मेरी दिदीले दृढतापूर्वक भन्नुभयो। म अब विद्यालय जाँदिनँ। मलाई सानोमा बाबा भनेर दिदीले बोलाउथिन। बाबाको पढाइ राम्रो छ। उसैले पढ्नुपर्छ।उहाँले आफ्ना सपनाहरू त्यागेर मेरो भविष्यको बाटो खुला गरिदिनुभयो। त्यस अर्थमा म मेरी दिदीप्रति सधैँ ऋणी छु। कान्छा दाजुको माया र परिश्रमले पनि मलाई अघि बढ्न कहिल्यै रोक्न दिएन।” उहाँ केही बेर मौन रहनुभयो। अनि फेरि आफ्नो कथालाई अघि बढाउनुभयो। “यत्तिकैमा, मेरो माइतमा मलाई माग्न आउने कुरा उठ्यो। परिवारले मेरो विवाह गर्ने निर्णय गर्यो। म त्यतिबेला कक्षा ८ मा अध्ययनरत थिएँ। बालपनमा विवाह भनेको रमाइलो, नाचगान, सिंगार र मिठो खानपिन मात्र लाग्थ्यो। वैवाहिक सम्बन्धको गहिराई र जिम्मेवारीबारे कुनै परिपक्व ज्ञान थिएन। त्यसैले म खुशी हुँदै त्यसलाई स्वीकार गरेँ।उहाँले आफ्नो एउटा अधुरो चाहनालाई सम्झनुभयो “मेरो विवाहको एउटा शर्त थियो मलाई अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउनुपर्छ। तर त्यो सपना अधुरै रह्यो। मैले त्यो अवसर कहिल्यै पाइनँ।” उहाँको स्वरमा पुनः आत्मीयता मिसियो “म माइतकी कान्छी छोरी हुँ। मेरा दाइले मलाई अत्यन्त माया गर्नुभयो। उहाँको त्यो मायाको ऋण मैले जीवनमा कुनै दिन सकेसम्म, उतार्ने प्रयास गर्नेछु भन्ने लाग्छ।

उहाँले आफ्नो व्यक्तित्वको अर्को पाटो उजागर गर्नुभयो “म अध्ययनमा अब्बल थिएँ, र अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय थिएँ।म फुटवल खेल्न असाध्यै मन पराउँथे। सायद मेरो व्यक्तित्व र व्यवहारका कारण होला, केटा विद्यार्थीहरू मप्रति आकर्षित हुन्थे। तर मप्रति एक प्रकारको संकोच पनि राख्थे। म स्वभावैले आत्मविश्वासी र अन्यायप्रति प्रतिरोध गर्ने खालकी थिएँ।उहाँले आफ्नो वैवाहिक जीवनतर्फ संकेत गर्दै भन्नु भयो “मेरो विवाह सामाजिक परम्परा र सामाजिक संस्कार अनुसार मागी विवाहकै रूपमा सम्पन्न भयो। मैले आफ्नो जन्मघर माइत छोडेँ। सायद त्यसमा पीडा हुनुपर्ने थियो। तर जीवनको अधिकांश समय श्रीमान्को घरमै बितेकाले, त्यहाँका सदस्यहरू र गाउँसँग मेरो आत्मीयता अझ गहिरो बन्यो। कहिलेकाहीँ त माइतभन्दा कर्मघरमै आफूलाई बढी सहज महसुस गर्छु।उहाँको निष्कर्ष जीवन दर्शनझैँ लाग्थ्यो “सुख र दुःख त एउटै सिक्काका दुई पाटा रहेछन्।जीवन भनेको परिस्थिति अनुसार आफूलाई ढाल्दै अघि बढ्ने यात्रा हो यही नै मैले सिकेको सबैभन्दा ठूलो ज्ञान हो।

माइतमा जीवन निर्वाह गर्नु भनेको केवल बाँचिरहनु मात्र थिएन। त्यो त संघर्षको एउटा प्रारम्भ थियो। अनि माइत हरेक छोरिको स्वर्ग नै हो। आज पनि मलाई त्यो समयको प्रत्येक दृश्य झल्झली सम्झना आउँछ हामी साना हातहरूले भारी दाउरा बोकेर गाउँको बाटोमा हिंड्थ्यौँ। घामले टाउको पोल्थ्यो, खुट्टामा चप्पल नहुँदा काँडाले घोच्थ्यो।तर मनमा एउटा सानो आशा हुन्थ्यो। आजको दाउरा बेचेर केही पैसा कमाइन्छ कि भन्ने। हामीले ती दाउराका भारीहरू जम्मा साठी रूपैयाँमा बेच्थ्यौँ। त्यो रकम सुनिँदा सानो लाग्न सक्छ।तर हाम्रो लागि त्यही साठी रूपैयाँ नै संसार जस्तै ठूलो थियो। त्यही पैसाबाट सानासाना आवश्यकता पूरा गरियो। बाल्यकालका चाहनाहरू धेरै थिएनन्,। तर ती साना साना चाहनाहरू पूरा गर्न पनि कति ठूलो संघर्ष गर्नु पर्थ्यो भन्ने कुरा हामीले राम्रोसँग बुझेका थियौँ। त्यो समयले हामीलाई केवल दुःख मात्र दिएन। हामीलाई बलियो पनि बनायो। तर मनको कुनै कुनामा आज पनि त्यो साठी रूपैयाँको मूल्य सानो थिएन किनकि त्यसमा पसिना मात्रै होइन, हाम्रो बाल्यकालको अधुरो सपना र नबोलेको पीडा पनि मिसिएको थियो भन्ने लाग्छ।

नेपालको कथा व्यथाभन्दा पनि हाल उहाँको क्यानडाको बारेमा थप बुझ्न मन लाग्यो।म्याम, तपाईं हाल कुन स्थानमा कस्तो प्रकारको व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ?

सर, मेरो व्यवसायको नाम B&B Nepali Cuisine हो। हाल यो Peter’s Pizza नामबाट सञ्चालनमा रहेको छ।यो व्यवसाय 21-Commonwealth Avenue, Mount Pearl City मा अवस्थित छ।यसका साथै, सोही ठेगानामा My Apartment Bar and Gaming Lounge पनि सञ्चालन गर्दै आएको छु। जसको ठेगाना 21-A Commonwealth Avenue, Mount Pearl City भनेर परिचित छ। यहाँ मैले नेपाली, भारतीय, बङ्गाली यहीका लोकल क्यानेडियन नागरिकहरू र अरू देशबाट आएका कामदारहरूलाई पनि रोजगारी सृजाना गरेको छु। खासगरी विद्यार्थीहरू काम गर्न आउँछन।मैले न्यूनतम पनि मेरो एउटा व्यवसायमा संलग्न कामदारहरूलाई कुल मासिक १४ देखि १७ लाखसम्म नेपाली रकम भुक्तान गर्दै आएको छु।

मेरो ड्याडी वित्नु भएको पनि  करिब १७ वर्ष भइसकेछ।समय जान कती पनि नलाग्ने रहेछ।

“अनि पछुतो त छैन नि म्याम,” मैले विस्तारै भनेँ, “तर मानिसले विगतको घाउ कोट्याएर होइन, वर्तमानलाई सम्हालेर अगाडि बढ्नुपर्छ भन्छन होइन र ?”

यो प्रश्न मैले सहजताका लागि थपेको थिएँ। तर मलाई उहाँको परदेशको अनुभव सुन्ने चाहना झन् गहिरिँदै थियो।उहाँ फेरि आफ्नै विगततर्फ फर्किनुभयो जसमा पीडा थियो। मौन चिच्याहट थियो। र अधुरा सपनाहरूको भारी थियो। “पति को घर” मैले जति सहज लाग्छ भनेर सोचेको थिए, मेरो जीवनमा त्यो त्यति सरल कहिल्यै बनेन उहाँले मन्द स्वरमा भन्नुभयो। “म श्रीमती बनेर भित्रिएको त्यो घरमा, माइतभन्दा बढी समय बिताएँ, तर अपनत्व खोजिरहेँ। सासु, ससुरा, नन्द, देवर सबै आफ्नै लाग्थ्यो। तर म भने सधैं बुहारी मात्र रहेँ।उहाँ केही क्षण रोकिनुभयो। स्वर अझै गहिरिँदै गयो।बुहारीको धर्म भनेको बिहान कुखुराको भाले नबास्दै उठ्नु, दिनभरि घरधन्दा गर्नु, र बेलुका सबै काम सकिएपछि चुलोको अँगेनो खरानीले छोपेर मात्र निदाउनु यही मेरो दैनिकि बन्यो।समय त थियो तर आफ्ना लागि थिएन।

उहाँका आँखामा अनगिन्ती नबोलेका कथाहरू झल्किरहेका थिए।पढ्न साह्रै मन लाग्थ्यो  तर पढ्ने समय कहिल्यै पाइएन।नजिकै विद्यालय थियो, तर बिहानको कामकै कारण मेरो पहिलो घण्टी सधैं छुट्थ्यो। पढाई मेरो लागि रहर मात्र बन्यो, अधिकार कहिल्यै बन्न सकेन।

त्यसैबेला एयरलाइन्सकी परिचारिकाले पानीको वाटर ग्लास सर्भ गर्दै पानी ल्याइदिइन्।  मैले ग्लास उहाँतर्फ बढाएँ “म्याम, पानी।” उहाँले ग्लास लिनुभयो। तर मतर्फ हेर्न सक्नुभएन। झ्यालतिर फर्किनुभयो। सायद, वर्षौंदेखि दबिएका भावनाहरू आज आफैंसँग साक्षात्कार गर्दै थिए।

मैले फेरि बिस्तारै सोधेँ, “म्याम, अनि…?”

उहाँले लामो सास फेर्नुभयो “अनि जीवन अत्यन्त संघर्षमय थियो। मेरा पति वैदेशिक रोजगारीमा जानुभएको थियो। घरमा कठोर नियमहरू पालना गर्नु पर्थ्यो। मैले सोचे अनुसार पढ्न कहिल्यै पाइनँ।त्यो बेला आइरन गेट भनेर चिनिने एस. एल. सी. परीक्षा मैले सफलतापूर्वक पास गरेँ।त्यो बेला मेरो सासुआमा क्यानसरको रोगी हुनुहुन्थ्यो। मेरो धर्म हो भनेर मेरो सासुलाई स्याहार गर्नु पर्ने दायित्व मेरै काँधामा थियो र कर्तव्य पनि मैले निर्वाह गरेँ।मैले पढाइमा भन्दा पनि सासुको स्याहार गर्नु परो। मेलै सासुको जीवनको अन्तिसम्म साथ दिए। सासु मर्नेबेलामा साइली मैले ज्यादै सताएँ मलाई माफ गर है भनेर जानु भयो।१०+२ राम्रोसँग पास गरेँ। अनि उर्लाबारी क्याम्पसमा ब्याचलर अँग्रेजी मुख्य शिक्षाशास्त्र संकायमा अध्ययन गर्न सुरु गरेँ।त्यसैबीच मेरो छोरा जन्मियो।मेरो अध्ययन स्नातक तह राम्रो हुन सकेन ब्रेक लाग्यो। गरिबी ,पारिवारिक ब्यस्तता, श्रीमानको परदेशको जीवन सबै सोच विचार गरेर अब म पनि श्रीमान भएको ठाउँमा जान्छु भनेर मेरो जीवनको अर्को मोड सुरू भयो।

विभिन्न परिस्थितिले मलाई अब नेपाल छोड्न बाध्य बनायो। म क्यानडा जाने तयारीमा थिए।  मेरा पतिले मलाई यहाँको पढाई क्यानडामा काम लाग्दैन भन्नु भयो।मलाई त्योबेला के थाहा पढाइ भनेको जहाँको पनि उत्तिकै महत्वपूर्ण हुन्छ भनेर।उहाँको स्वरमा ममता र पीडाको मिश्रण थियो।

छोराको स्याहार सुसारमा लाग्दा, पढाई ओझेलमा पर्न गयो। सबै परीक्षा त दिएँ, तर परीक्षामा सफल हुन सकिन।जीवनमा शैक्षिक वृत्तिको सपना आजसम्म पूरा भएको छैन। त्यो वाक्यसँगै उहाँका अधुरा सपनाहरूको तितो यथार्थ प्रष्ट देखिन्थ्यो। कलिलो उमेरमै निमोठिएको शैक्षिक आकांक्षा, जसले कहिल्यै पूर्णता पाउन सकेन।संभव भयो भनेँ म नेपाल फर्केर पुनः परीक्षा दिउँकि झै पनि लाग्छ। पति विदेशमा हुँदा उहाँले पठाएको पैसा पनि म आफ्नै भन्न पाउँदिनथेँ।उहाँले भन्नुभयो, देवर र परिवारका अरू सदस्यहरूले चलाउँथे। म भने सधैं अभावमै थिएँ। कहिलेकाहीँ फिल्म हेर्न जाँदा १० रुपैयाँ लाग्थ्यो तर त्यो पनि माग्दा पाउँदिनथेँ।उहाँ केहीबेर मौन रहनुभयो।त्यही बेला महसुस भयो म कुन संसारमा बाँचिरहेकी छु भनेर?” त्यो प्रश्न केवल उहाँको थिएन। त्यो प्रश्न हजारौँ नारीहरूको साझा पीडा थियो।

मैले चासोपूर्वक सोधेँ, “अनि म्याम, त्यसपछि?”

उहाँका आँखामा पहिलोपटक दृढता झल्कियो। त्यसपछि मैले निर्णय गरेँ । अब यत्तिकै बाँचेर मात्र हुँदैन। मैले आफ्नो छोरालाई लिएर क्यानडा जाने निश्चय गरेँ। पतिसँग समन्वय गरेँ।जीवनलाई नयाँ दिशा दिनुपर्छ भन्ने साहस जुटाएँ।उहाँको स्वरमा अब केवल पीडा थिएन।त्यहाँ संघर्षबाट जन्मिएको आत्मबल थियो। त्यो कथा केवल दुःखको बयान मात्र थिएन। त्यो एउटा यात्राको साक्षी थियो जहाँ अभावले मान्छेलाई भाँच्न खोज्छ, तर साहसले फेरि उठ्न सिकाउँछ। उहाँको जीवनले एउटा गहिरो सन्देश दिइरहेको थियो।विगतले जति नै चोट दिए पनि वर्तमानमा उभिएर भविष्य निर्माण गर्न सकिन्छ। यदि मनभित्र आशा र हिम्मत बाँकी छ भने।

अनि क्यानडाको जीवनबारे तपाईंको अनुभव कस्तो रह्यो म्याम? हामीले त्यहाँबाट के सिक्नुपर्छ?” मैले चासोपूर्वक प्रश्न राखेँ। अब म उहाँको संघर्षको अर्को अध्याय सुन्न चाहन्थेँ परदेशको।जहाँ सपना र यथार्थबीचको दूरी अझ गहिरो हुन्छ।

उहाँले केही क्षण शान्त भएर टाढा हेर्नुभयो। अनि मन्द मुस्कानसहित भन्नुभयो सर आफ्नो देशभन्दा राम्रो अरू केही हुँदैन नि। म क्यानडा पुगेपछि करिब पाँच बर्ष अत्यन्त संघर्षमय जीवन वित्यो जुन शब्दमा भन्न सक्दिन म।यो वाक्यमा एक प्रकारको थकान थियो।तर त्यससँगै अनुभूतिको गहिरो सत्य पनि मिसिएको थियो। क्यानडामा जीवन सजिलो थिएन।उहाँले विस्तारै भन्न थाल्नुभयो मैले दैनिक १४/१५ घण्टासम्म काम गरेँ। कहिलेकाहीँ शरीर थाकेर लड्न खोज्थ्यो। तर मनले हार मान्न दिँदैनथ्यो। बाँच्नका लागि। अगाडि बढ्नका लागि। मैले आफूलाई निरन्तर धकेलिरहेँ।उहाँको स्वरमा संघर्षको कठोरता स्पष्ट सुनिन्थ्यो।तर त्यहाँ मैले धेरै कुरा सिकेँ। मैले १८ डलर प्रति घन्टा कमाउँदा अडाई डलर पैसा बचाउन म एक घन्टा पैदल हिड्थेँ।राती ११ बजेको समयमा पनि हिड्थेँ। हरेक दिन न्यूनतम १४ घन्टा काम गर्थेँ।विदेशमा सुरूवात चरणमा आधारभूत कुराहरूको व्यवस्थापनमा धेरैखर्च भयो। विशेष गरेर, अँग्रेजी भाषामा मेरो व्यापक सुधार भयो। सुरुमा बोल्न डर लाग्थ्यो। गल्ती हुन्छ कि भन्ने चिन्ता हुन्थ्यो। तर त्यही डरलाई जित्दै अघि बढेँ। भाषा केवल संवादको माध्यम मात्र होइन। आत्मविश्वासको ढोका पनि रहेछ भन्ने महसुस गरेँ। उहाँले एकछिन रोकिएर फेरि भन्नुभयो सुरूमा म घण्टाको ११ डलर कमाउँथेँ। पैसा त थियो।तर त्यसको मूल्य मैले पसिनासँग नापेँ।श्रम र पसिनाको कुनै तुलना हुँदैन त्यो अनुभवले मात्र बुझिन्छ।उहाँका आँखामा अब थकान होइन, अनुभूतिको परिपक्वता देखिन्थ्यो।तर एउटा कुरा भने मैले गहिरो रूपमा बुझेँ। सर उहाँले जोड दिँदै भन्नुभयो राज्यले आफ्ना नागरिकलाई श्रम गर्ने अवसर दिनुपर्छ। यदि देशमै काम गर्ने वातावरण र सम्मानजनक अवसर मिल्यो भने किन यूवाहरु विदेशिन्थे? सबै आफ्नै माटोमा केही गर्न चाहन्छन्।यो वाक्य केवल विचार थिएन।त्यो उहाँको जीवनबाट निस्किएको निष्कर्ष थियो।

म अहिले नेपाल फर्किएर काठमाडौँ आएको छु।उहाँले अगाडि भन्नुभयो यहाँको विकास हेर्दा धेरै परिवर्तन भएको पाएँ। सम्भावनाहरू देखिन्छन्। यहाँ जे गरे पनि सम्भव छ भन्ने विश्वास पलायो।उहाँको स्वरमा अब आशा झल्किन थालिसकेको थियो। जहाँ केही छैन त्यहीँ सबैथोक गर्ने अवसर लुकेको हुन्छ नि सर। बस, त्यसलाई देख्ने आँखा र गर्ने आँट चाहिन्छ।उहाँको यो कथनले स्पष्ट सन्देश दिन्थ्यो।परदेशले केवल पैसा मात्र दिँदैन, अनुभव दिन्छ, दृष्टिकोण बदल्छ।तर अन्ततः मानिस फर्किन चाहन्छ आफ्नै माटोमा, जहाँ उसको पहिचान हुन्छ।यदि त्यही माटोले अवसर दिन सक्छ भने, त्यहाँबाट उठेको सपना संसारकै जुनसुकै कुनाको खुसी भन्दा उज्यालो हुन सक्छ।

उहाँको उक्त अभिव्यक्तिले मलाई विगतमा International Labour Organization द्वारा निर्धारित Start and Improve Your Business तालीमको पाठ्यक्रमको झल्को दिलायो।म केही क्षण मौन बसेँ। अलिकति समयपछि उहाँले फेरि थप्नुभयो विदेशमा मैले बसोबास गरेको स्थानमा कसैले इज्जतको खोजी गर्दैन ।न त कसैले व्यक्तिगत जीवनमा चासो राख्छ। तर श्रम गरेर जीविकोपार्जन गर्न कसैले अवरोध पुर्‍याउँदैन।त्यहाँ अवसरहरू प्रशस्त छन्।हाल न्यूनतम १६ डलर प्रतिघण्टाको दरले पारिश्रमिक पाइन्छ। क्षमता तथा दक्षता अनुसार त्योभन्दा धेरै पनि आर्जन गर्न सकिन्छ। म पनि यही अनुपातलाई आधार मानी मेरो व्यवसायमा संलग्न श्रमिकहरूलाई तलब प्रदान गर्दछु।

अनि म्याम कसरी व्यवसाय सुरू गर्नु भयो क्यानडामा ?

उहाँले भन्नु भयो सर। मेरो दैनिक श्रमको अनुभवले मलाई दास बन्न दिएन।मेरो मनले भन्थ्यो चाहे जे जस्तो होस्, एक दिन म आफ्नो व्यवासय आफैँ सञ्चालन गर्नेछु। संघर्ष धेरै गरियो। मैले बेच्न मिल्ने गार्वेज कलेक्शन गरेँ, रेष्टुरेन्टमा पहिलो दिनको मेरो उपस्थितिले नै मिठा परिकार तयार गरी बिक्री गर्ने कला सिकें।यो मेहनतले मेरो बाबुलाई पढाउन सफल भएँ। आज आफ्नै राम्रो गाडी छ। जुन म आफैं ड्राइभ गर्छु।क्यानडमा गाडि चलाउने अनुमतीपत्र प्राप्त गरेँ।यसको छुट्टै संघर्षको कथा छ। मलाई यो अवस्थामा आइपुग्नको लागि केही सुन्दर आत्मा भएका साथिहरूले साथ दिएका छन् जसलाई म जीवनभरी सम्झन्छु।उहाँहरूलाई नसम्झी मेरो मनले सान्ती पाउँदैन।तर उहाँहरूको बारेमा समय मिल्यो भनेँ कुनै दिन यस्तै अवसर मिल्यो भनेँ हजुरलाई प्रस्तुत गरौँला। पछि भनौला सर समय मिल्यो भनेँ।मानिसहरूले मलाई सेफको भूमिकाका कारण सम्मान गर्छन्।म काम गर्दा सिप प्रदर्शन गर्न लाज मान्दिनँ। पिर परेको बेला गीत गाउँन र एक्लै नाच्न मन लाग्छ।संगीत मेरो जीवनको अभिन्न साथि हो। विदेशी भूमिमा पनि त्यहाँका नागरिकहरूले मलाई आफ्नै जस्तो व्यवहार गर्छन्।केही मेरा साथिहरू छन जसले मेरो व्यवसाय सञ्चालनमा अर्थपूर्ण सहजिकरण गरे मेरो जीवनका अभिन्न अङ्गजस्तै छन उनीहरू। यहाँ कामको सीप र भावनाको सम्मान हुन्छ।कसैको पदभन्दा पनि बढी । मैले जीवनको संघर्षमा आफूलाई एक व्यवसायिक महिलाको रूपमा स्थपित गर्न सफल भऐँ।भगवानको साथले होला आजसम्म मेरो शरीरलाई बेच्न कहिल्यै परेन। यही कारणले मैले मेरा दुःख र संघर्षलाई भुलेर मेहनत र संघर्षले खुशी र सन्तोष महसुस गर्छु।

धेरैले सोच्छन्, महिलाले यस्तो व्यवसाय कसरी अगाडि बढाउन सक्छ? तर मैले अनुभूति गरेँ मनमा हिम्मत, आँट, जाँगर र सीप भरिएपछि हरेक पीडा शक्तिमा रूपान्तरण गर्न सकिन्छ।बाधा र चुनौतीहरूदेखि अब डर लाग्दैन।असम्भव केही छैन।उहाँको यो कथनले मलाई केवल सुन्ने अनुभव मात्र होइन।साक्षात्कार जस्तो गहिरो अनुभूति दिलायो जसले मेरो हृदयमा प्रेरणाको उज्यालो फैलायो।

मैले सोधेँ म्याम हजुरसँग हाल कतिवटा व्यवसायहरू सञ्चालनमा रहेका छन्?

उहाँ मुस्कुराउँदै भन्नुभयो दुई वटा रेष्टुरेन्ट छन्।अब त तीनवटा भन्दा पनि हुन्छ अर्को तयारी अवस्थामा छ।सञ्चालनमा ल्याउन बाँकी छ। केही छलफलहरू अझै अगाडी गर्नु पर्ने छ। यहाँ कम्तीमा पनि १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन। अन्य केही पार्टटाइम काम पनि गर्छन्। नेपाली मूलका भाइ बहिनीहरूले काम नपाएको अवस्थामा मेरोसम्पर्कमा आएको खण्डमा मेरो व्यक्तिगत तबरबाट सहजिकरण गर्दै आएकी छु।

यस्तै कुरा गर्दै गर्दा  हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा पुगिएछ।फ्लाईट एटेन्डेन्सको एयरट्राफिक भएकाले हामी थप १५ मिनेट गोराउण्ड गर्नुपर्ने सूचना जारी भयो। फ्लाइटले ल्याण्ड गर्न सकेन र एयर ट्राफिकले गर्दा गो राउन्ड गर्नु पर्‍यो।

सायद यही समयले हामीलाई थप संवादका लागि अवसर दिएको रहेछ। करिब १५ मिनेटसम्म आकाशमै उड्दै हामीले संवाद जारी राख्यौं।

अनि म्याम नेपाल बसाई कती छ हजुरको?

सर,  एक महिनाको लागि आएको हुँ। तर यो पटक मलाई नेपाल वास्तवमा छोड्नै मन लागिरहेको छैन। हरेक दिनले मलाई क्यानडा तानिरहेको छ तर मन भनेँ नेपालमै बस भन्दै छ।यसो भन्दै गर्दा उहाँ थकित हुनु भयो क्यार नबोली आँखा चिम्लनु भयो लामो सास फेरेर। 

अब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्यो। बसबाट डोमेस्टिक टर्मिनलसम्म आउँदा केही संवाद भएन। म आफ्नै गन्तव्यतिर अघि बढ्दै थिएँ।

“सर, म कलङ्की जाँदैछु, एकछिन लगेज कुर्दैछु। मलाई काठमाडौंको ठ्याक्कै लोकेशनको बारेमा धेरै थाहा छैन। हजुरसँग समय छ भने के एक कप कफी सँगै पिउन सकिन्छ प्लिज?” म कफिको पारखी हुँ।यसो भनौँ कफिको लत बसेको छ मलाई नाई भन्न मन लागेन तर मैले संकोच पनि मानिन।उहाँले थप्नु भयो आज म धेरै बोलेँ यदि केही कुरा गलत बोलेको भए म क्षमाप्रार्थी छु। अनि हजुरले मलाई सुन्नु भयो इट्स रियल्ली एप्रिसियटेड। थ्याङ्कयू सो मच सर।

हामी डोमेष्टिक टर्मिनलबाट पठाउ ट्याक्सी लिएर नयाँ बानेश्वरको वाकम्यान क्याफेमा पुगेका पुग्यौँ। एउटै ट्याक्सीमा यात्रा भए पनि खासै संवाद भएन। उहाँले यात्राभरी सुनाएको कुराहरू दिमागमा स्टोरेज हुँदै थिए।उहाँको गन्तव्य कलङ्की थियो भने मेरो बाटो नयाँ बानेश्वर। तर कफी पिउन उपयुक्त समय र ठाउँ मिलेकाले वाकम्यान क्याफे रोजियो।मैले अमेरिकानो सिङ्गल सर्ट अर्डर गरेँ।उहाँलाई कालो कफी मन नपर्ने रहेछ।त्यसैले उहाँले क्यापचिनो अर्डर गर्नुभयो। उहाँका आँखामा व्यवसायिक अनुसन्धान र विचारहरू प्रष्ट छरिएका देखिन्थे।कुनै समय १० रुपैयाँको खर्च गर्न सक्दिनँ भन्ने अवस्था थियो, तर अहिले ५०० रुपैयाँको कफी पिउन सक्षम भइयो। काठमाडौंमा क्याफे संस्कृति स्थापित भएको रहेछ। यसले श्रम सृजनाको सुन्दर सुरुवातलाई झल्काउँछ।

सर, कफिको पैसा म तिर्छु भन्दै मलाई जितेर बील भुक्तानी गरिहाल्नु भयो। म कलङ्की जान्छु, मेरो त्यहाँ बहिनी छन् उहाँले भन्नुभयो। ठीकै छ, म्याम, धेरै खुशी लाग्यो। मैले भने यो देशलाई तपाईं जस्ता हिम्मती, परिश्रमी र दूरदर्शी मानिसहरूले बनाउने हो । उहाँको आत्मविश्वास र विनम्रता देख्दा मनमा सम्मान र प्रेरणा दुवै जाग्यो। उहाँ भन्दै हुनुहुँथ्यो म थप प्रश्न गर्न चाहन्थें, तर उहाँ यात्रामा भेटिएको एक क्षणिक साथी मात्र हुनुहुन्थ्यो।उहाँले अलिकति संकोच गर्दै सोध्नुभयो, सर, यदि तपाईंलाई अप्ठेरो लाग्दैन भने, के म तपाईंको फोन नम्बर पाउन सक्छु? मैले हुन्छ भनेँ। उहाको हातका औँलाहरु आइफोनमा एकछिन दौडिए सायद मरो नम्बर सेभ गरेको हुनुपर्छ।

उहाँमा अनुभव, संघर्ष र सफलताको गहिरो छायाँ थियो। म अनुभव गर्न सक्थे केवल शब्दबाट मात्र, उहाँको व्यवहार र उपस्थितिबाट पनि प्रेरणा प्राप्त हुन्थ्यो। त्यो क्षण मेरो लागि केवल संवाद थिएन  यो एक जीवनको पाठ, हिम्मत र आत्मविश्वासको अनुभव थियो।मैले महसुस गरेँ सफलता केवल साधन र परिणाममा मात्र होइन, त्यस यात्रामा मैले एक नेपाली नारीमा देखिएको दृढसंकल्प पनि देखेँ।

कफीको सिपसँगै मैले संवाद अलि लम्ब्याउँदै भनें यहाँ तपाईं जस्ता नेपालमा केही गरौँ भन्ने भावना बोकेकाहरूले एकिकृत भएर नेपाल फर्कने हो भने नेपाल कस्तो हुन्थ्यो होला म्याम ?”

मुस्कुराउँदै भन्नु भयो म यसपटक नेपालमै केही गरौँ भन्ने उद्देश्यकासाथ नयाँ सोचविचर गर्दैछु सर। संभावना के कस्तो हुन्छ भनेर। यदि नेपाल सम्बन्धी केही सोध्नु परे म हजुरसँग सम्पर्क गर्न गर्नेछु।राम्रो कुरा भयो आज ,म धन्यवाद व्यक्त गर्दै क्याफेबाट उठेँ। उहाँलाई हात हल्लाउँदै भनें बाइ, म्याम, नाइस टु मिट यू । सि यू अगेन।उहाँ बाइ सर भन्दै गन्तव्यतिर लाग्नु भयो।

त्यो छोटो क्षण, तर संवादमा समेटिएको विनम्रता र आत्मविश्वासले मलाई निकै प्रेरित गर्यो।म आफ्नो कोठामा पुगेँ।कस्तो अद्भुत अनुभूति अजिव नुदिया जस्तो लाग्यो। उहाँको जीवनको कथा सुन्दा लाग्छ, समाज, परिवार र अवसरले मानिसलाई कहाँदेखि कहाँसम्म पुर्‍याउन सक्छन्। म आफ्नो दुनियामा हराएँ, तर उहाँको कथा मेरो मनमा लामो समयसम्म गुञ्जीरह्‍यो।

त्यस्तै चार दिन भएको थियो होला मलाई नयाँ नम्बरबाट फोन आयो। सर म भूमा, म नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा पुगेँ। सर, यदि समय मिल्छ भने भेट्न सकिन्छ? हुन्छ, म्याम भनेँ। मैले थपें, म तीन बजे फ्री हुन्छु। तपाईं देउरालीक्लब नजिकैको Walkman Caffe मा आउन सक्नुहुन्छ पहिला हामीले कफी पिएको स्थानमा तपाइले भन्नुभएको हस्पिटलबाट मात्रै दश मिनेटको वाकिङ्ग डिस्टेन्समा छ। हुन्छ, सर, म आउँछु। त्यसबेला मेरो अस्पतालको काम पनि सकिसक्छ।तीन बजे ठ्याक्कै उहाँ आइपुग्नुभयो। नेपालीहरू विदेश गएपछि समय पालनामा पङ्गचुअल हुदारहेछन भन्ने उहाँको उपस्थिले पुष्टी गर्‍यो।

मैले उत्सुकतापूर्वक सोधेँ, म्याम, नेपालको राजधानी शहर कस्तो लाग्यो नेपालमै हुँदा कत्तिको घुम्नु भएको थयो ?

उहाँ मुस्कुराउँदै भन्नुभयो धेरै घुमे दक्षिणकाली, नगरकोट, चन्द्रागिरी हिल्स, किर्तिपुर, त्रि.वि. विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, बुढानिलकण्ठ मन्दिर, नेपालको ठुलो भनेर चिनिने LOD क्लब, दरबारमार्गका केही क्लबहरू, नेपाली रेष्टुरेन्टहरू, अनि बसन्तपुर दरबार स्क्वायर र डोलेश्वर महादेबको मन्दिर नगरकोट घुमेँ। साँच्चै मैले काठमाडौं मस्त घुमे। नेपाल हुँदा मलाई यी स्थानहरू घुम्ने अवसर मिलेको थिएन भन्नु भयो। मैले उहाँका अनुभवहरु चुपचाप सुनिरहेँ।

सर मेरो निर्वाचनको समय नजिकिँदैछ।नेपालीहरूको क्रयक्षमता उल्लेखनीय रूपमा वृद्धि भएको रहेछ। मेरो भन्दा कम उमेरका युवाहरू करोडौँ मूल्यका गाडीहरूमा यात्रा गर्दारहेछन्।के उनीहरूले आफ्नै श्रम गरेर कमाएको सम्पत्ति हो त?  नेपालमा ३० वर्षभित्रमा मानिसहरूले ६० लाखभन्दा बढी मुल्यका गाडि लिएर हिडेको देख्दा संका उत्पन्न हुन्छ मलाई। अलिकति विदेशी जीवनशैली र हावापानीले पनि नेपाली युवालाई गहिरो प्रभाव पारेको देखिन्छ। काठमाडौंमा क्याफे संस्कृति अत्यन्तै फस्टाएको रहेछ। यो संस्कृति मैले क्यानडामा बस्दा यहाँको जस्तो सिघ्रता वास्तविक जीवनमा देख्न पाएको थिइनँ। रेष्टुरेन्टहरूमा मानिसहरूले सामान्य बसाइमा पनि १०/११ हजार रुपैयाँसम्म खर्च गर्न सक्षम भएका रहेछन्। विदेशी ब्राण्डका ह्विस्की वाइनहरू प्रसस्तै पिउँदा रहेछन। सायद यो विश्वव्यापीकरणको प्रभावले नेपालको सांस्कृतिक र आर्थिक परिवेशमा अनेकौं परिवर्तनहरू ल्याएको स्पष्ट अनुभव गरेँ।कफी पिउँदै उहाँले थप भन्नुभयो, “सर, नेपालीहरू आजसम्म भोकले कोही पनि मरेका छैनन्,। नेपालमा मानिसहरू महिनौँ काम नगरी घुमेर खाने पिउने अवस्था बनाउन सक्छन्। तर क्यानडामा भने, आज काम नगरेको खण्डमा भोली खाने व्यवस्था हुँदैन।मैले चुपचाप उहाँको कुरा सुनिराखेँ। सर विदेशमा चाँही मानिसले पोलाइट भएर सभ्य भएर बोल्न सिकिन्छ र अनुशासन त भैहाल्छ।इक्सक्यूज मी वा विहाइन्ड यू प्लिज साधारण कुरामा पनि। नेपालमा त हिड्दाखेरी एकको हावाले अर्को ढालौला झै गाडी छुटेजस्तै गरी हिड्छन। हाम्रो नेपालमा धेरै कुराहरू नागरिक आफैँले सिक्नु पर्ने पनि छ। व्यवहार त सरकारले सिकाउने हैन नी सर।नागरिक आफैँ ज्ञानी बन्ने पनि हो।

म्याम, नेपालमा के के कमी छ जस्तो लाग्छ हजुरलाई?” मैले सोधेँ।

उहाँले गहिरो सोचमा डुबेर भन्नुभयो, सर, नेपालमा कानून पर्याप्त छन्, तर ती कानूनहरूको प्रयोग र आवश्यकता, औचित्यबारे नागरिकलाई स्पष्ट जानकारी छैन। साथै, नेपाली युवाहरू एकदमै महत्वाकांक्षी भएका रहेछन्। श्रमको मूल्य स्वदेशमा होइन, प्रायः परदेशमा अधिक मूल्य पाउँछ। नेपालमा स्वतन्त्रता अधिक भएकाले अराजकता पनि व्यापक फैलिएको छ।उहाँको दृष्टिकोण सुन्दै मेरो मनमा अनेक प्रश्नहरू उठे। उहाँले थप्नुभयो, सच्चिनु पर्ने सबै हो, तर सबैभन्दा पहिला सच्चिनु पर्ने नागरिक हुन्। यदि नेपाली नागरिकले सार्वभौम अधिकारको प्रयोग जिम्मेवारी पूर्वक गर्छन् भने सरकारको दोष कम हुन्छ।मतदान गर्नु भनेको छोरी ज्वाइँलाई दिनु जस्तो हो।यदि जिम्मेवारीसाथ जीवनसँगी बनायौ भने पुण्य पाउँछौं  मारेउ भने पुण्ड्यको बदला पाप हाम्रो संस्कारले भन्छ।” मैले मनमनै सोचेँ यी नारीमा कत्ति धेरै चेतनाको भण्डार रहेछ।

नेपालमा पुनरागमन गर्ने डयस्पोराको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय समृद्धिमा रूपान्तरण गर्न स्पष्ट नीति, सुदृढ शान्ति सुरक्षा र लगानीमैत्री वातावरण अनिवार्य छ। कानूनी शासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणले विश्वास निर्माण गर्दछ। ऊर्जा, पानी र यातायातजस्ता आधारभूत पूर्वाधारको दिगो विकासले उत्पादनशीलता बढाउँछ। एकद्वार प्रणाली, कर सहुलियत र सहज ऋण पहुँचले लगानी आकर्षित गर्छ। नवप्रवर्तनमैत्री वातावरण र सार्वजनिक निजी साझेदारीमार्फत दीर्घकालीन परियोजना प्रवर्द्धन गर्नुपर्छ। सीप पुनःएकीकरणका कार्यक्रमहरूले डयस्पोराको क्षमतालाई उपयोग गरी आर्थिक रूपान्तरणमा ठोस योगदान सुनिश्चित गर्दछ।

मैले उहाँलाई सोधेँ, म्याम, के नेपालमा तपाईं जत्तिको सीप, क्षमता र ज्ञान भएको मानिस आउन सक्दैन?

उहाँले मुस्कुराउँदै भन्नुभयो, “मिल्छ सर सकिन्छ।” मैले सोचेँ उहाँसँगको भेट साँच्चै अर्थपूर्ण रह्यो। उहाँले भन्नु भयो सर तपाइसँग भेटेर मैले  सरकार, सरकारका गतिविधि, नागरिकको भूमिकाः अधिकार र कर्तव्य, देशको कानूनबारे धेरै कुरा सिकें। मैले बुझें  सिटिजन इन पेपर र सिटिजन इन फिलिङ्गसको अवधारणा साँच्चै जीवन र व्यवहारमा कसरी लागू हुन्छ। मैले उहाँलाई संवादको क्रममा भि.एस. नपौलको पुस्तक “The Mimic Man” सुनाएको विषय प्रसँगवस थियो।मैले सिफारिस गरेको भि.एस. नपौलको “The Mimic Man” किताब भृकुटी पुस्तक पसल, न्यूप्लाजाबाट किनेर पढिसक्नु भएछ। मैले यो किताब पुरै पढेको छैन। विद्वान अधिवक्ता डा. सुभास आचार्यज्यूले मलाई “ म पनि अब विदेश यात्रा तय गरूम क्यार झै लाग्छ भन्दा” यही किताबको बारेमा उल्लेख गर्दै सम्झाउनु भएको थियो।

उहाँ भन्दै हुनुहुन्थ्यो मैले सोचेँ —म क्यानडाकै नागरिकता लिएर आफ्नै तरिकाले विलय हुन सक्थें, तर हजुरसँगको भेटले मलाई नेपालमा नागरिक, सरकार र कानूनबारे नयाँ दृष्टिकोणबारे भरिदिनु भयो। यसले मेरो मनमा गहिरो प्रभाव छोड्यो, र म अझ जिम्मेवार र सजग नागरिक बन्न प्रेरित भएँ।

म्याम, खुसी लाग्यो! तपाईंको क्यानडा प्रस्थान कहिले छ ?” मैले सोधेँ। तपाईंको प्रस्थानको बेला समय मिल्यो भने एक कप कफी सँगै पिउँदै विदा गरौँला।

उहाँले उत्तर दिनुभयो, सर, म ९ मार्चमा क्यानडा जानेछु। आज बेलुकी मेरो बिराटनगरको फ्लाइट छ, साँझ ६ बजे।” सर, तपाईंलाई धेरै धन्यवाद, समय दिनुभएकोमा। म काठमाडौंबाट दिल्ली हुँदै, त्यहाँबाट मोन्ट्रियल र अन्ततः सेनजोन, न्यूफाउन्ड ल्याण्ड एन्ड ल्याभ्राडोर पुग्नेछु। हुन्छ, सर। विदा पाउँ, नमस्कार।”

निर्वाचन सकिएपछि मेरो कामले मलाई भोलिपल्टै काठमाडौं फर्कन बाध्य तुल्यायो। मार्च ८ को बेलुका, साँझ ६ बजेतीर उहि नम्बरबाट फोन गर्नुभयो।

नमस्कार, म भुमा। भोली साँझ ५ बजे मेरो फ्लाइट छ। यदि समय मिल्छ भने भेट्न सकिन्छ हजुर?”

मैले पनि हुन्छ मिल्छ, म्याम भनेँ।

तपाईं कति बजे एयरपोर्ट पुग्नु हुन्छ? म त्यहीँ आउँछु तपाईंलाई विदा गर्न मैले भनेँ।

उहाँले भन्नुभयो, “२ बजे।” अन्तर्राष्ट्रिय उडान भएकाले एयरलाइन्सले तीन घन्टा अगावै चेकइन गर्नुपर्ने कुरा मैले स्मरण गरें। त्यसैले हामीसँग झन्डै २० मिनेटको कफी मिटिङ्ग मात्र भयो।कफी पिउँदै, म उहाँसँगको संवाद र उहाँको अनुहारमा छर्लङ्ग देखिएको आत्मविश्वास संभावना र क्षममतालाई सँगसँगै लान सक्ने यस्ता नागरिक नेपालमै फर्किको भए नेपाल बन्ने थियो होला भन्ने मलाई महसुस भयो। मैले यत्ति मात्रै भनेँ ल म्याम, शुभ यात्रा। नेपालको माटो र यहाँका सम्झनाहरू सधैं तपाईंको साथमा रहून्। पुनः आउनु भयो भने जन्म भूमिको ऋण तिरेर जानु।

उहाँ धेरै भावकु हुनु भयो।गोरो अनुहार गाजल लगाएको आँखा भित्र सेता आँखाको पृष्ठभूमिभित्र अचानक राता नशा देखिए छिनभरमै आशु खसे। उहाँलाई विदाइ गर्न उहाँको एकजना साथी पनि आउनु भएको थियो।पहेलो बौद्दधर्मावलम्बीले उपयोग गर्ने खादा लगाएर, औपचारिक भावसहित विदा गर्नु भयो। उहाँको साथि नेपाली चलचित्र कर्मी हुनुहुँदो रहेछ। मैले चाही औपचारिकता खासै केही गरिनँ तर उहाँको नजर, उहाँको हाँसो र विदाईको लयले मेरो मनमा गहिरो प्रभाव पार्यो।मलाई यस्तो लाग्दै थियो उहाँको भावले भन्दै थियो की सायद मलाई यहाँ बस्नु प्लिज। मलाई विदेश जान नदिनुहोस।नजानु भनेर रूने कोही मानिस हुन्थ्यो त्यहाँ भनेँ डाँको छोडेर रूनुहुन्थ्यो होला।तर उहाँलाई विदा गर्ने परिवारको कोही पनि सदस्य थिएन। त्यही भएर होला सायद उहाँले आफ्नो मन पत्थरको बनाउनु भएको हुँदो हो।उहाँले अन्तिममा भन्नुभयो, “सर, म नेपाल फर्किने कि नफर्किने भन्ने कुरा पुगेपछि तपाईंलाई सन्देश पठाउँछु।

मैले शुभ यात्रा म्याम भनेँ यती भन्दै गर्दा उहाँ चेकिइन तर्फ इमिग्रेशन इन हुनु भयो।

त्यो शब्दले मेरो मनलाई उदासीले भरिदियो।आँखा अघि उहाँको अनुहार र खादा लगाएर विदा हुनुभएको दृश्य रहिरह्यो। मैले परदेश लाग्नेलाई विदा गरेको यो पहिलो अवसर थियो। यो भेटको क्षणले मलाई सम्झायोकी यो भेट उहाँसँग अब पुनःकहिल्यै दोहोरिने छैन पहिलो र अन्तिम भेट हुनुपर्छ। त्यो क्षण केवल विदाइ थिएन; त्यो एउटा गहिरो अनुभूति, सम्मान र अलिकति निस्तब्ध दुःखसँग मिश्रित प्रेमिल याद बन्यो भन्दा अन्याय पक्कै हुँदैन।

करिब दुई हप्तापछि उहाँले ह्वाट्सएपमा म्यासेज गर्नुभएको रहेछ। राती करिब २ बजेतीर। भोलिपल्ट मात्रै टाइम जोच चेक गर्दा ठ्याक्कै अपोजिट टाइम जोन पर्दोरहेछ।

संदेश यस्तो थियो नेपालमा बहुमतको सरकार बनेको छ। यो पक्कै पनि देशको लागि राम्रो संकेत हो। मैले निर्णय गरेको छु सर अब म नेपाल फर्कन्छु। म केही साना रेष्टुरेन्टहरू खोलेर कामहरू गर्न सक्छु। तर मेरो वास्तविक योगदान त आफ्नै देशमा व्यवसाय सञ्चालन गरेर रोजगारी सृजना गर्नु हो। तपाईंले मलाई भन्नुभएको कुराले मेरो मनमा स्वदेश फर्कने लालसा जगायो। यदि मैले नेपालमै आफ्नो सानो व्यवसाय मार्फत रोजगारी सिर्जना गर्न सकेँ भने म नेपालमा नै सुखी र खुशीपूर्वक बस्न सक्छु। सर, पैसा वा विकसित ठाउँले मात्र खुशी दिन सक्दैन। सानासाना योगदान, प्रयास र देशका लागि केही गर्न सक्ने अवसरले पनि गहिरो खुशी दिन्छ।

मैले रिप्लाईमा भनेँ नेपालमा तपाईंलाई स्वागत गर्न पाउने दिन छिट्टै आवस र तपाईंको रेष्टुरेन्टमा खाजा खाने निम्ताको प्रतिक्षामा रहुँला। हाम्रो सहयोग आवश्यक परेमा जुनसुकै वैध सहयोग गरौँला।

म्याम, तपाईंलाई के लाग्छ स्वदेशको माटो आफ्नो मुलुक र यहाँका अवसरलाई नजर अन्दाज नगरी विदेशमा रहँदा अनुभव सँगालेर अब नेपाल आउनु उचित हो कि होइन ?”

सर, हाम्रो नेपाली समुदायका धेरै युवाहरू क्यानडा लगायत विभिन्न गन्तव्य मुलुकतर्फ प्रस्थान गर्ने निर्णय लिँदा सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, फेसबुक रिल्स तथा अन्य डिजिटल माध्यमहरूमा प्रस्तुत गरिने आकर्षक तस्बिरहरू र सामग्रीहरूबाट प्रभावित हुने गरेका छन्। यस्ता प्रस्तुतिहरूले विदेशमा धन सम्पत्ति सहजै प्राप्त हुन्छ, मानौँ “पैसाको बोट” नै हुन्छ भन्ने भ्रम सिर्जना गर्ने गर्छन्, जसका कारण उनीहरू उच्च आर्थिक लागत व्यहोर्न तयार हुँदै आफ्नो मातृभूमि त्याग्ने निर्णयसम्म पुग्छन्। यथार्थ भने यसभन्दा निकै फरक र कठोर छ। विदेशमा बिना श्रम जीवन निर्वाह सम्भव छैन; निरन्तर परिश्रम बिना आधारभूत आवश्यकताहरू पूरा गर्न समेत कठिन हुन्छ। अध्ययन वा रोजगारीका लागि विदेश गएका नेपालीहरूको वास्तविक अवस्था त्यहाँ पुगेपछि मात्र अनुभूत गर्न सकिन्छ। दैनिक जीवन सञ्चालन जस्तै बसोबास, खानपान तथा अन्य आवश्यकताहरू व्यवस्थापन गर्न अत्यन्त संघर्ष गर्नुपर्छ। यो अवस्था “नमरी स्वर्ग देखिँदैन” भन्ने उखानसँग तुलना गर्न सकिन्छ। साथै, कार लोन, होम लोन, शैक्षिक ऋण, बीमा लगायत दीर्घकालीन आर्थिक दायित्वहरूले व्यक्तिलाई करिब ३०/४० वर्षसम्म त्यही भूमिमा बाँधेर राख्ने अवस्था सिर्जना गर्छ। यस्ता संरचनात्मक बाध्यताहरूका कारण स्वदेश फर्किन समेत सहज हुँदैन, र व्यक्ति माकुराको जालोमा अल्झिएको जस्तो परिस्थितिमा फस्न पुग्छ।

यिनै परिस्थितिहरूको सामना गरेपछि मात्र धेरैलाई आफ्नो मातृ भूमि प्रतिको स्नेह र यसको वास्तविक मूल्यको गहिरो अनुभूति हुन्छ। त्यसैले, विदेश गमन गर्ने निर्णय लिनुअघि नेपाली युवाहरूले यथार्थपरक जानकारी, समुचित तयारी तथा विवेकपूर्ण सोचको अवलम्बन गर्नु अत्यन्त आवश्यक देखिन्छ।

विवाह गरेर घरगृहस्तीको जीवनतर्फ लाग्नुको सट्टा मैले पढ्न पाउनु पर्छ भन्ने उद्देश्य बनाएको थिएँ। तर पारिवारिक परिस्थितिका कारण सोचे अनुसारको शैक्षिक लक्ष्यमा पुग्न सकिनँ। घरका दैनिक कार्यहरू चुलोचौकाको कामदेखि लिएर घरबाहिर खेतीपातीको कामसम्म सबै गरेँ। संघर्षका ती वर्षहरूका बावजुद, मैले १०+२ उत्तिर्ण गरेर त्रि.वि. अन्तरगतको उर्लावारी क्याम्पसमा भर्ना भएँ। जीवनमा त्यो भन्दा बढी शैक्षिक उपलब्धि शायद मेरो जीवनमा लेखेको थिएन क्यार। अर्को वर्ष नेपाल आउँदा परीक्षा दिन मिल्ने अवस्था रहे, भने जसरी पनि स्नातक उत्तिर्ण गर्ने रहर छ। मिल्छ संभव छ समय हुन्छ भनेँ सर मलाई सूचना उपलब्ध गराइदिनुहोस भन्नु भयो । मैले त्रि.वि. वि. को फेसबुक पेज हेर्नुहोला भनेँ । सर, मैले नेपालमा स्थानीय गैरसरकारी संस्थामा पाँच वर्ष काम गरेँ। सना नानी बाबुहरुलाई डान्स पनि सिकाए र स्थानीय निजी विद्यालयमा अध्यापन पनि। ती दिनहरू सम्झँदा, मनमा ती क्षण फेरी फर्किएर आउँदा पनि हुने तर अब ती केवल सम्झनामा मात्रै छन् तर ताजा छन्, जीवित छन्। जीवनमा भोग्नु परेको अभाव र आधारभूत आवश्यकताहरूको संवोधन, पारिवारिक खुसी र समृद्धिको खोजका सन्दर्भमा मैले क्यानडा आफ्नो कर्मथलो बनाएको छु। क्यानडामा मेरो जीवन शैली लेवीस टाइपको छ।मसँग आफ्नै गाडी छन्, आफ्नै व्यवसाय छ।अनि आरामदायी जीवन बिताइरहेको छु। तर तपाईंको भेट र संवाद पछि सर, मैले सानो भएदेखि विताएका नेपालका हरेक पलहरूलाई सम्झन्छु। ती यादहरू मेरो हरेक श्वासमा घुलिएका छन्, अनि मेरो माटोप्रतिको प्रेम अझ प्रगाढ भएको अनुभूति हुन्छ।

नेपाल संसारको विविधता र प्राकृतिक सुन्दरताले भरिएको देश हो। तर यहाँको सार्वजनिक प्रशासन र नागरिकका लागि आवश्यक सामाजिक सुरक्षा तथा जनसंख्याको व्यवस्थापन सरकारले प्रभावकारी ढंगले नगरेको कारण, यहाँका युवा आफ्नो जन्मभूमिको सम्भावनाको खानी छोडेर परदेशतिर जान बाध्य छन्।नेपाल छोड्दा उनीहरू मनमा असीम सपना बोकेर उड्छन्,। तर परदेशमा पुग्दा वास्तविकताले झट्टै अनुहारमा हिर्काउँछ काम नगरे खान पाइँदैन। घरमा पैसा पठाउने त परैको कुरा। नेपाली युवाहरूले परदेशमा आफ्नो श्रम, अनुशासन र प्राप्त ज्ञान आफ्नो देशमा प्रयोग गर्न सके, नेपाल स्वर्ग जस्तै बन्न सक्छ। किनभने आफ्नो देश, आफ्नै मातृभूमि सधैं सबैभन्दा प्रिय हुन्छ। सत्य यो हो कि विदेशी भूमिमा पसिना बगाएका नेपाली नागरिकहरू स्वदेश फर्किएर ज्ञान, सीप र अनुभव भित्र्याए सरकारले त्यसलाई सहज र सुसंगठित गर्न भूमिका खेल्यो भने, समृद्ध नेपाल, सुखी नेपाली नेपाल सरकारको १६औँ योजना र नेपालको संविधानले तय गरेको मर्म अनुरूपको शासन व्यवस्था मात्र होइन, राष्ट्रको वास्तविक समृद्धि सम्भव हुनेछ भन्ने देख्छु सर मैले।

मैले उहाँलाई भनेँ नेपाल आउँदा हतार भन्दा पनि सोचविचार र योजना बनाएर मात्र आउनुहोस्। भावनामा मात्र नबहकिनुहोस। त्यसपछि हाकीबिच थप संवाद भएको छैन। उहाँ आउनु हुन्छ वा आउनु हुन्न त्यो उहाँको कुरा भयो।

यी भद्र र सभ्य नेपाली नारी आकाशयात्राको सहयात्रीको संवादले मैले सिकेको पाठ “जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी।” यसको अर्थ हो “आमा र जन्मभूमि स्वर्ग भन्दा पनि उच्च र महान् छन्।” यो नेपालका लागि राष्ट्रिय आदर्श र देशभक्तिले भरिएको गहिरो भाव हो।वाल्मीकि रामायणबाट उद्धृत गरिएको यस सूक्तिले आमा (जन्म दिने) र मातृ भूमिलाई स्वर्गको सुखभन्दा माथि राखेर, उच्च सम्मान र कर्तव्यको भाव प्रकट गरेको छ। यसले प्रत्येक नेपालीलाई आफ्नो मातृ भूमिप्रति सम्मान, जिम्मेवारी र प्रेमको पाठ सिकाउँछ।“भुमा” जस्तै अरू छरिएर रहेका नेपाली यूवाहरूलाई नेपाल फर्कन यो संवाद एक अध्ययन सामाग्री बन्न सक्छ भन्ने हेतुले प्रस्तुत गरिएको हो ।उहाँका भावनाहरूलाई लिपिवद्द गर्न अनुमति लिएर मात्रै यो लेख तयार गरी प्रकाशनको लागि तयार गरिएको छ र निजी संवाद्‍का आधारमा तयार गरिएको एक यात्रा संस्करण मात्र हो।  

लेखकः सार्वजिनिक प्रशासन, दिगो विकास र कानून तर्जुमा क्षेत्रका विश्लेषक हुन।

Share This Article
Leave a Comment