गौरादहमा सिटि सफारी चालक तालिम समापन, पेटानी बुन्ने तालिम आरम्भ

2 Min Read

जेठ १२,२०८३– गौरादह नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आर्थिक वर्ष २०८२/०८३ को लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिटी सफारी चालक तालिम समापन तथा पेटानी बुन्ने तालिमको शुभारम्भ भएको छ । गौरादह नगरपालिका वडा नम्बर ७ को सभाकक्षमा आज संयुक्त कार्यक्रम आयोजना गरी तालिम समापन तथा शुभारम्भ गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरीले पेटानी तालिमले समुदायको भेषभूषाको जगेर्ना गर्न सहयोग पुग्नुका साथै व्यावसायिक रूपमा अघि बढ्न टेवा पुग्ने बताउनुभयो । तालिममा नियमित सहभागी नहुनेहरूलाई नगरले सहयोग गर्न नसक्ने भन्दै उहाँले गम्भीरतापूर्वक अवसरको सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उपप्रमुख राजवंशीले सिटी सफारी तालिम लिनेहरू पनि आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

गौरादह–७ का वडाध्यक्ष बलराम खरेलले पेटानी बुन्ने तालिम अत्यन्तै महत्वपूर्ण आयमूलक तालिम भएको भन्दै तालिमलाई सही सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले सफारी चालक तालिम लिएका दुई महिलालाई वडाले आगामी योजनामा समेटेर ५० प्रतिशत अनुदानमा सफारी उपलब्ध गराउने घोषणा गर्नुभयो ।

नगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता तुम्बापोले तालिम सफलतापूर्वक सम्पन्न भए पनि सिकेका दिदीबहिनीहरूले व्यावसायिक रूपमा सिटी चलाएर आत्मनिर्भर भए मात्र तालिमको सार्थकता रहने बताउनुभयो । तालिम लिएकामध्ये केहीलाई नगरले अनुदानमा सिटी सफारी प्रदान गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा सिटी सफारी तालिम प्रदायक संस्था चन्द्र सूर्य सीप विकास संस्था दमकका अध्यक्ष विष्णुप्रसाद अधिकारीले सकेसम्म सबैलाई निपूर्ण बनाउने प्रयास गरिएको बताउँदै नगरले सफारीमा अनुदान दिएपछि व्यावसायिक रूपमा अघि बढ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सिटी सफारी तालिममा सहभागी सुनिता ताजपुरिया तथा बिन्दा कर्माकारले राम्रोसँग तालिम लिन पाएको भन्दै सफारी खरिदमा नगरले सहयोग गरे जीविकोपार्जन गर्न सकिने आत्मविश्वास पलाएको बताउनुभयो ।

सहभागीहरूलाई प्रशिक्षक रोमन मिश्रले १५ दिने सिटी सफारी सञ्चालन तालिम प्रदान गर्नुभएको थियो भने पेटानी बुन्ने तालिम ४५ दिनसम्म सञ्चालन गरिने जानकारी कार्यक्रममा गराइयो ।

कार्यक्रममा गौरादह–७ का वडा सदस्यहरू पुण्डरीप्रसाद रेग्मी तथा धनकुमारी विश्वकर्मासहित दुवै तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो ।

Share This Article
Leave a Comment