भदौ ४ – बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए। थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार दाबी पेस गरेका थिए।
नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो।राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधवार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। प्रदेश प्रमुख कार्यालयले भने आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको नियुक्ति र शपथ कार्यक्रम तय गरेको जानकारी गराएको थियो।

