माघ २५- १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
नेपालले समग्रमा तेस्रो पटक तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ। रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रने नेपालका लागि यो खेल ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। समूह चरणका चारै खेल नेपालले वानखडे स्टेडियममै खेल्ने तालिका छ।
यस संस्करणमा नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकप डेब्युको तयारीमा छन्। सोमपाल कामी भने नेपालले खेलेका सबै विश्वकप संस्करणमा सहभागिता जनाउने एक्ला खेलाडी हुन्। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्दैछन्।
विश्वकप तयारीका क्रममा नेपालले यूएई र क्यानडासँग खेलेका दुवै अभ्यास खेल जितेको थियो। श्रीलंका र भारतमा गरिएको प्रशिक्षणले टोलीको मनोबल उच्च रहेको छ। इङ्ल्यान्डले भने नेपालविरुद्धको खेलका लागि आफ्नो प्लेइङ–११ हिजै सार्वजनिक गरिसकेको छ।
नेपाल रहेको समूहमा इङ्ल्यान्डसँगै वेष्ट इन्डिज, स्कटल्यान्ड र पहिलो पटक विश्वकप खेलेको इटाली छन्। आजै बिहान अफगानिस्तान–न्युजिल्यान्ड र बेलुका श्रीलंका–आयरल्यान्डबीच पनि खेल हुनेछ।
हिजोबाट सुरु भएको प्रतियोगितामा भारत, पाकिस्तान र वेष्ट इन्डिजले विजयी सुरुआत गरेका छन्। २० टोली सहभागी विश्वकप मार्च ८ (फागुन २४) सम्म सञ्चालन हुनेछ।

