पुष ३०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका मेयर रामा शङ्करप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार मेयर कुशवाहासँगै प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोज मोहन कुमार सिंह तथा रौतहटस्थित शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र जाजुल मिया कवारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको हो।
उनीहरूले नगरस्तरीय कार्यक्रम ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ सञ्चालन गर्ने भनी सम्झौता गरे पनि तालिम सञ्चालन नगरी झुट्टा तथा नक्कली बिल–भर्पाई र कागजात तयार गरी प्रतिवेदन पेश गरेको अभियोग लगाइएको छ।
अख्तियारले उनीहरूविरुद्ध जनही ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

