माघ ४- आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ ।
नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताप्रति टोली उत्साहित रहेको बताएकी छन् । प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनले १८ वर्षपछि यस्तो अवसर पाएको उल्लेख गर्दै अभ्यास खेलहरूबाट धेरै कुरा सिक्ने मौका मिलेकाले टोलीको मनोबल उच्च रहेको बताइन् । नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो महिला क्रिकेट प्रतियोगिता भएकाले यसले आउने पुस्तालाई पनि अघि बढ्न सहज हुने उनको भनाइ छ ।
आजै अन्य दुई खेल पनि हुनेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेलअन्तर्गत आयरल्यान्ड र पपुवा न्यू गिनीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाबीचको खेल दिउँसो १ बजे हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमै हुनेछन् । तालिकाअनुसार नेपालले दोस्रो खेल माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल माघ १० गते जिम्बावेविरुद्ध र चौथो खेल माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ चरणमा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि, उद्घाटन खेलमा नेपाल–थाइल्यान्ड भिडन्त
Leave a Comment
Leave a Comment

