राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि

1 Min Read

माघ ४- राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन गरिने तयारी गरिएको छ। अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्नेछ।
अधिवेशनको तयारीका लागि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो। पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनका सबै तयारी पूरा भइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज बिहान ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनका लागि तयारी तीव्र बनाएको छ। आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ। प्रतिनिधिसभाको निर्वाचन तयारीसमेत अघि बढिरहेको र राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको सन्दर्भमा यो अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

Share This Article
Leave a Comment