इतिहास, संस्कृति र पर्यटनः किचकबधदेखि कोशी प्रदेशको समृद्धिसम्म

12 Min Read

मञ्जु डाँगी

समय केवल बितेको हुँदैन त्यो अझै जीवित हुन्छ। नेपालका भौगोलिक सीमाभित्र कतिपय यस्ता स्थलहरू रहेका छन्,। कोशी प्रदेशको झापा जिल्लामा अवस्थित किचकबध त्यस्तै एउटा स्थल हो जहाँ पौराणिक कथा, ऐतिहासिक प्रमाण र वर्तमान जीवनशैली एउटै धरातलमा भेटिन्छन्। महाभारतकालीन प्रसंगसँग जोडिएको यो क्षेत्र केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, यसले दुई हजार वर्षभन्दा पुरानो सभ्यताको साक्ष्य बोकेको ऐतिहासिक धरोहरका रूपमा आफूलाई स्थापित गरिसकेको छ।मेची र देउनिया नदीको दोभानमा फैलिएको यो स्थल प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आध्यात्मिक ऊर्जा तीनैको समिश्रण हो।यहाँ आउने हरेक आगन्तुकले केवल दृश्यावलोकन मात्र गर्दैन, एउटा जीवित इतिहासको अनुभव गर्छन्। आख्यानकार झापा स्थायी निवासी कृष्ण धारावासीको राधा उपन्यासमा किचकबधको काल्पनिक अनुभवको बेजोड प्रस्तुती रहेको पाइएको छ।

तर यति गहिरो महत्व हुँदाहुँदै पनि किचकबध अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन।यहीँबाट सुरु हुन्छ एउटा महत्वपूर्ण प्रश्न के हामी आफ्नो सम्पदालाई केवल सम्झनामा सीमित राख्ने कि त्यसलाई समृद्धिको आधार बनाउने ?  किचकबधको कथा यही द्वन्द्वको कथा पनि हो, जहाँ सम्भावना विशाल छ, तर त्यसलाई रूपान्तरण गर्ने दृष्टि र समन्वय अझै अपूरो छ।

नेपालको समग्र विकास यात्रामा पर्यटन क्षेत्र केवल एक सहायक आयाम होइन। यो राष्ट्रको आर्थिक, सांस्कृतिक र पहिचान निर्माणको मूल आधार बन्न सक्ने शक्तिशाली क्षेत्र हो।प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक विविधताको अनुपम संयोजन भएको नेपालमा यदि पर्यटनलाई रणनीतिक रूपमा विकास गर्न सकियो भने समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय लक्ष्य केवल नारामा सीमित रहने छैन व्यवहारमै साकार हुन सक्छ। यही सन्दर्भमा कोशी प्रदेशमा विशेषतः झापा जिल्लाको किचकबध एक सम्भावना बोकेको स्थलका रूपमा उभिएको छ।किचकबध केवल एक धार्मिक स्थल मात्र होइन, यो पौराणिक कथा, पुरातात्विक प्रमाण र जीवित सांस्कृतिक अभ्यासको संगम हो। महाभारतकालीन कथासँग जोडिएको यस स्थलमा भीमसेनले द्रौपदीमाथि कुदृष्टि राख्ने किचकलाई वध गरेको किंवदन्तीले यहाँको धार्मिक महत्त्वलाई स्थापित गरेको छ।

तर यो केवल विश्वासको विषयमा सीमित छैन। पुरातत्व विभागले विभिन्न चरणमा गरेको उत्खननबाट प्राप्त सामग्रीहरूको वैज्ञानिक परीक्षणले करिब २२०० वर्ष पुरानो सभ्यता यहाँ रहेको पुष्टि गरेको छ।यो तथ्य आफैंमा अत्यन्त महत्वपूर्ण छ। किनकि यसले किचकबधलाई केवल धार्मिक आस्थाको केन्द्रबाट माथि उठाएर ऐतिहासिक अनुसन्धान र अन्तर्राष्ट्रिय पर्यटनको सम्भावनासँग जोडिदिन्छ। प्राचीन इँटा, भवन संरचना, सुरक्षात्मक पर्खाल, माटाका भाँडावर्तन, धातुका सामग्री र सभाहलका भग्नावशेषहरूले यहाँ कुनै समय संगठित र विकसित बस्ती वा दरबार रहेको स्पष्ट संकेत गर्छन्।भौगोलिक दृष्टिले पनि किचकबध आकर्षणको केन्द्र हो। मेची र देउनिया नदीको दोभानमा अवस्थित, वरिपरि उर्वर फाँटले घेरिएको र बीचमा उठेको डाँडोले यस क्षेत्रलाई प्राकृतिक रूपमा विशिष्ट बनाएको छ। षट्कोण आकारको पोखरी, त्यससँग जोडिएको धार्मिक विश्वास, वरिपरि रहेका मन्दिरहरू र खुला हरियाली क्षेत्रले यहाँ आउने जो कोहीलाई आध्यात्मिक शान्ति र प्राकृतिक आनन्द दुवै प्रदान गर्छ।धार्मिक दृष्टिले किचकबध अझै सजीव छ। माघ शुक्ल पूर्णिमाका दिन लाग्ने मेला, पोखरीमा स्नान गर्ने परम्परा, पान सुपारी चढाउने, परेवा उडाउने, केश मुण्डन गर्ने जस्ता अभ्यासहरूले यस स्थललाई निरन्तर जीवन्त राखेका छन्। झापा मात्र होइन, पूर्वी नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत हजारौँ भक्तजनहरू यहाँ आउने गरेका छन्। यसले धार्मिक पर्यटनको दृष्टिले किचकबधलाई अन्तरदेशीय आकर्षणका रूपमा स्थापित गरेको छ।

तर आजको सन्दर्भमा किचकबधको महत्व केवल धार्मिक वा ऐतिहासिक मात्र होइन  यो त आर्थिक सम्भावनाको केन्द्र पनि हो। पछिल्ला वर्षहरूमा यहाँ वनभोज, पारिवारिक भ्रमण, आन्तरिक पर्यटन र साना व्यवसायहरूको वृद्धि देखिन थालेको छ। चिल्ड्रेन पार्क, झोलुङ्गे पुल, सडक पहुँच, बिजुली, पानी र सुरक्षाको व्यवस्था जस्ता आधारभूत पूर्वाधारले यहाँको पर्यटकीय आकर्षणलाई विस्तार गरेका छन्।यद्यपि, यस्ता सकारात्मक संकेतहरू हुँदाहुँदै पनि किचकबध अझै आफ्नो पूर्ण क्षमतामा विकास हुन सकेको छैन। यसको मुख्य कारणहरू पर्याप्त लगानीको नहुनु, योजनाबद्ध विकासको अभाव, पुरातात्विक संरक्षणमा कमजोरी, र सबैभन्दा महत्वपूर्ण, तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको कमी भएको देखिएको छ।पुरातात्विक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हुँदाहुँदै पनि कतिपय स्थानमा अव्यवस्थित निर्माण, पर्यटकहरूको अनियन्त्रित गतिविधि र दीर्घकालीन संरक्षण रणनीतिको अभावले यहाँको मौलिकता जोखिममा परेको छ। उत्खनन गरिएका संरचनाहरू पुनः सुरक्षित रूपमा संरक्षण गर्नुपर्ने ठाउँमा कतिपय अवस्थामा तिनको उचित व्यवस्थापन हुन सकेको छैन।यस्तो अवस्थामा किचकबधको संरक्षण र विकासलाई केवल स्थानीय प्रयासमा सीमित राख्नु पर्याप्त हुँदैन।यसको लागि तीनै तहका सरकार (स्थानीय, प्रदेश र संघ) बीच स्पष्ट कार्यविभाजन, साझा दृष्टिकोण र प्रभावकारी समन्वय  कार्यान्वयनको अभाव देखिएकोछ। स्थानीय तहको भूमिका सबैभन्दा नजिकको र महत्वपूर्ण हुन्छ। स्थल व्यवस्थापन, सरसफाइ, स्थानीय समुदायको सहभागिता, साना पूर्वाधार निर्माण र पर्यटन सेवा व्यवस्थापनमा स्थानीय सरकारले अग्रसरता लिनुपर्छ।प्रदेश सरकारले क्षेत्रीय स्तरको पर्यटन रणनीति निर्माण, सडक, आवास, प्रचारप्रसार, लगानी आकर्षण र निजी क्षेत्रसँग सहकार्यमा नेतृत्व लिनुपर्छ। कोशी प्रदेशले किचकबधलाई आफ्नो प्रमुख धार्मिक ऐतिहासिक गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सक्ने पर्याप्त आधार प्रदान गर्दछ।

संघीय सरकारको भूमिका अझ व्यापक र दीर्घकालीन हुन्छ।नीति निर्माण, बजेट विनियोजन, अन्तर्राष्ट्रिय प्रचारप्रसार, वैज्ञानिक उत्खनन, संरक्षण र अनुसन्धानमा संघीय सरकारले निर्णायक भूमिका खेल्नुपर्छ।

पुरातत्व विभाग, पर्यटन मन्त्रालय र संस्कृति सम्बन्धी निकायहरूले किचकबधलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक छ।यस्तो समन्वय बिना, किचकबध जस्ता सम्भावना बोकेका स्थलहरू क्रमशः अव्यवस्थित विकासको सिकार बन्न सक्छन्। तर यदि समन्वय प्रभावकारी भयो भने, यसले कोशी प्रदेशको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउन सक्छ।पर्यटन क्षेत्रको एउटा महत्वपूर्ण विशेषता के हो भने यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा व्यापक रोजगारी सिर्जना गर्छ। होटल, रेष्टुरेन्ट, यातायात, गाइड सेवा, हस्तकला, कृषि उत्पादन, सांस्कृतिक कार्यक्रम यी सबै क्षेत्र पर्यटनसँग जोडिन्छन्। किचकबध जस्ता स्थलको विकासले स्थानीय युवालाई रोजगारीको अवसर दिन सक्छ जसले वैदेशिक रोजगारीमा निर्भरता घटाउन मद्दत गर्छ।त्यसैगरी  धार्मिक र सांस्कृतिक पर्यटनले स्थानीय पहिचान र परम्परालाई संरक्षण गर्न पनि सहयोग पुर्‍याउँछ। जब कुनै समुदाय आफ्नो संस्कृति र इतिहासबाट आर्थिक लाभ लिन थाल्छ, तब त्यसको संरक्षणप्रति उसको प्रतिबद्धता अझ बलियो हुन्छ।कोशी प्रदेशको सन्दर्भमा किचकबध, इलामका चिया बगान, ताप्लेजुङको पाथिभरा, भोजपुरको ऐतिहासिक क्षेत्रहरू यी सबैलाई एकीकृत रूपमा विकास गर्न सकियो भने प्रदेशस्तरीय पर्यटन सर्किट निर्माण गर्न सकिन्छ।यसले पर्यटकको बसाइ अवधि बढाउने र खर्च वृद्धि गर्ने सम्भावना बढाउँछ।

तर यसको लागि दीर्घकालीन गुरुयोजना आवश्यक छ। भौतिक पूर्वाधार, वातावरणीय संरक्षण, सांस्कृतिक संवर्द्धन, डिजिटल प्रचारप्रसार र लगानीका रणनीति स्पष्ट रूपमा समेटिएको हुनुपर्दछ।आजको विश्वमा पर्यटन प्रतिस्पर्धात्मक क्षेत्र बनेको छ। पर्यटक केवल स्थल हेर्न मात्र होइन, अनुभव लिन आउँछन्। त्यसैले किचकबधमा पनि केवल मूर्ति र पोखरी देखाउने होइन, कथा, इतिहास, संस्कृति र अनुभव प्रस्तुत गर्ने ढंगमा विकास गर्नुपर्छ।डिजिटल प्रविधिको प्रयोग, सूचना केन्द्र, मार्गदर्शन प्रणाली, व्याख्या केन्द्र (interpretation center), सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनहरूको बजार व्यवस्थापन जस्ता पक्षहरूमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ।  किचकबध केवल झापाको सम्पत्ति होइन यो सम्पूर्ण नेपालको साझा धरोहर हो। यसको संरक्षण र विकासले केवल एक क्षेत्रलाई होइन राष्ट्रको समग्र समृद्धिलाई टेवा पुर्‍याउन सक्छ।“समृद्ध नेपाल, सुखी नेपाली” को सपना कुनै अमूर्त कल्पना होइन। यो यस्ता सम्भावनालाई पहिचान गरी योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सक्दा मात्र साकार हुन्छ।किचकबधको कथा अतीतको गौरव मात्र होइन यो भविष्य निर्माणको अवसर पनि हो। अब प्रश्न केवल यति हो के हामी यस अवसरलाई समयमै पहिचान गरेर रूपान्तरण गर्न सक्षम हुन्छौँ ? यदि हुन्छौँ भने, कोशी प्रदेशको माटोबाट सुरु भएको यो सम्भावना एक दिन राष्ट्रिय समृद्धिको आधारस्तम्भ बन्नसक्छ।

तर यही सम्भावनाको छेउमै केही गम्भीर खाडलहरू पनि देखिन्छन्,। अब पनि समयमै सम्बोधन गर्न नसके यस क्षेत्रको मौलिकता नै ओझेलमा पर्न सक्छ। पहिलो दृष्टिमा देखिने समस्या हो एकीकृत दृष्टिकोणको अभाव। संरचना निर्माण भइरहेका छन्, पर्यटक आउन थालेका छन्, तर सम्पूर्ण विकास एउटा दीर्घकालीन अवधारणाभित्र बाँधिएको छैन। यसले गर्दा कतिपय भौतिक हस्तक्षेपहरूले स्वयं पुरातात्विक मूल्यका लागि जोखिम बन्न थालेका छन्। दोस्रो गम्भीर पक्ष संरक्षण र प्रयोगबीचको सन्तुलन हो।उत्खननबाट प्राप्त ऐतिहासिक प्रमाणहरूले यसको प्राचीनता प्रमाणित गरिसकेको अवस्थामा वैज्ञानिक तबरबाट संरक्षणलाई प्राथमिकतामा नराखी गरिने विकासले भविष्यमा अपूरणीय क्षति पुर्‍याउन सक्छ। अहिले देखिएको व्यवस्थापन शैली अझै “स्थानीय पहल” केन्द्रित छ, जुन सराहनीय भए पनि पर्याप्त होइन। यद्यपि, यिनै कमजोरीभित्र विशाल सम्भावनाहरू लुकेका छन्।किचकबधलाई धार्मिक आस्थासँगै ऐतिहासिक अध्ययन र सांस्कृतिक अनुभवको केन्द्रका रूपमा विकास गर्न सकिन्छ।यदि यसलाई क्षेत्रीय पर्यटन सञ्जालसँग जोडेर ब्रान्डिङ गरियो भने यसले आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्न सक्छ। विशेषगरी भारतसँगको भौगोलिक निकटता यसको थप बलियो पक्ष हो। अब प्रश्न आउँछ के गर्न सकिन्छ? तत्कालीन रूपमा अव्यवस्थित निर्माणलाई नियन्त्रण गर्दै वैज्ञानिक संरक्षणको मापदण्ड लागू गर्नुपर्ने देखिन्छ।पर्यटक व्यवस्थापन, सरसफाइ, सूचना प्रणाली र आधारभूत सेवामा सुधार ल्याउनुपर्छ। मध्यकालीन योजना अन्तर्गत, व्यवस्थित गुरुयोजना कार्यान्वयन, डिजिटल प्रचारप्रसार, स्थानीय सीप र उत्पादनलाई पर्यटनसँग जोड्ने कार्यक्रम अघि बढाउनुपर्छ।दीर्घकालीन रूपमा भने, किचकबधलाई एकीकृत सांस्कृतिक पर्यटन केन्द्रका रूपमा रूपान्तरण गर्नुपर्दछ।अनुसन्धान, शिक्षा र अनुभव आधारित पर्यटनलाई प्राथमिकता दिदाँ प्रदेश समृद्द बन्न सक्छ।यसको सम्पूर्ण प्रक्रियामा तीनै तहका सरकारबीच स्पष्ट भूमिकाविभाजन र निरन्तर समन्वय अपरिहार्य हुन्छ।स्थानीय तह कार्यान्वयनको आधार बन्नुपर्छ। प्रदेशले रणनीतिक दिशा दिनुपर्छ र संघले स्रोत, नीति र अन्तर्राष्ट्रिय पहुँच सुनिश्चित गर्नुपर्छ। किचकबधको भविष्य केवल यसको इतिहासमा होइन आज लिइने निर्णयहरूमा निर्भर हुन्छ। सही मार्ग रोज्न सकिएमा यो स्थल कोशी प्रदेशको मात्र होइन, समग्र नेपालको पर्यटन मानचित्रमा एक सशक्त गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ। 

कोशी प्रदेशको किचकबधजस्ता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले नेपालको पर्यटन क्षेत्रलाई केवल विस्तार गर्ने होइन त्यसलाई गुणात्मक रूपमा उकास्ने सामर्थ्य राख्छन्। पौराणिक किंवदन्ती, वैज्ञानिक रूपमा प्रमाणित पुरातात्विक महत्व र जीवित धार्मिक अभ्यासको संयोजनले यस्तो स्थललाई विशिष्ट बनाउँछ।

तर यस्ता सम्भावनाहरू आफैंमा पर्याप्त हुँदैनन्,। तिनलाई योजनाबद्ध संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमार्फत व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्छ।आजको यथार्थ के हो भने किचकबधजस्ता सम्पदाहरू सम्भावनाको उच्च विन्दुमा उभिए पनि चुनौतीको घेराभित्र छन्।अव्यवस्थित निर्माण, अपर्याप्त संरक्षण, सीमित बजेट, र नीतिगत तथा कार्यान्वयन तहमा देखिने समन्वय अभावले यसको मौलिकता र दीर्घकालीन अस्तित्वमै प्रश्न उठाउने खतरा देखिएको छ। यदि समयमै सचेत हस्तक्षेप हुन सकेन भने  यस्ता अमूल्य सम्पदाहरू क्रमशः क्षयीकरणतर्फ उन्मुख हुनजान्छन्।यही सन्दर्भमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य देखिन्छ। स्थानीय तहले समुदायसँग प्रत्यक्ष जोडिएर संरक्षण र व्यवस्थापनको आधार तयार गर्नुपर्छ। प्रदेश सरकारले क्षेत्रीय पर्यटन रणनीति, पूर्वाधार विकास र लगानी प्रवर्द्धनमा नेतृत्व लिनुपर्छ। संघीय सरकारले नीति, बजेट, अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको जिम्मेवारी वहन गर्दै दीर्घकालीन दृष्टिकोण सुनिश्चित गर्नुपर्छ। जब यी तीनै तह एकीकृत लक्ष्यका साथ अघि बढ्छन्, तब मात्र पर्यटन विकासले अपेक्षित परिणाम दिन सक्छ।धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको विकासले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ। रोजगारी सिर्जना, साना उद्यमहरूको विस्तार, सांस्कृतिक उद्योगको पुनर्जीवन र सेवा क्षेत्रको वृद्धि हुँदै समग्र आर्थिक गतिविधि गतिशील बन्छ। यसरी  एउटा स्थलको विकासले केवल पर्यटक आकर्षण मात्र होइन, जीवनस्तर उकास्न बहुआयामिक प्रभाव पार्दछ।

“समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य यिनै सम्भावनाको सही पहिचान र उपयोगमा निर्भर गर्दछ। किचकबधजस्ता स्थलहरूलाई संरक्षण र प्रवर्द्धन गर्न सकियो भने त्यो केवल सांस्कृतिक धरोहरको रक्षा मात्र हुदैन बरु आर्थिक समृद्धिको नयाँ ढोका पनि खुल्दछ।अबको आवश्यकता दूरदर्शी योजना, दृढ राजनीतिक इच्छाशक्ति र समन्वय, सहकार्य, पारदर्शी र जवाफदेहीता कार्यान्वयनको माध्यमबाट कोशी प्रदेशमा रहेका किचकबधजस्ता सम्भावनाले भरिएका पर्यटकीय गन्तव्यले राष्ट्रिय समृद्धिका लागि रूपान्तरण कायम गर्न सक्दछ।

(कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन सम्बन्धी लेखनवृति कार्यक्रम अन्तरगत प्रकाशित लेख – रचना सामाग्री)

Share This Article
Leave a Comment