१४ माघ,झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका वडा नम्बर १ मा चुनाव प्रचारप्रसार सम्बन्धि बृहत भेला सम्पन्न गरेको छ । वडाको चुनाव प्रचार प्रसार समिति संयोजक एवं एमाले कोशी प्रदेश कमिटी सदस्य बेनु प्रसाद सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलिका पक्षमा वडा नम्बर १ बाट अत्याधिक मत प्राप्त हुने वातावरण निर्माण गर्नका लागि विभिन्न निर्णय समेत गरेको छ ।
भेलाले प्रचारप्रसारका लागि टोल प्रचारप्रसार समिति गठन देखि असन्तुष्ट मतदातालाई समेटने सम्मका कार्यक्रम अघि सारेको वडा कमिटी अध्यक्ष राम पाठकले जानकारी दिनुभयो ।
भेलालाई सम्बोधन गर्दै एमाले कमल गाउँपालिका इन्चार्ज समेत रहनुभएका प्रचारप्रसार समिति संयोजक बेनु प्रसाद सिवाकोटीले झापा ५ मा एमालेको अवस्था सुदृढ रहेको भन्दै यश अघिका निर्वाचनमा सबै खनिदा पनि ठुलो मतान्तरमा विजय हासिल गरेकोले सबै कार्यकर्ता लागिपर्दा सहज रुपमा अघिल्लो निर्वाचन भन्दा बढी मतान्तरले विजय हासिल हुने बताउनु भयो ।
जिल्ला कमिटी सदस्य एवं वडा प्रचारप्रसार समिति सह संयोजक प्रेम पोखरेलले पार्टीले बनाएको मापदण्ड अनुरुप प्रभावकारी रुपमा आ-आफ्नो ठाँउ बाट परिचालन हुनुपर्ने भन्दै मत रक्षाका लागी टोलटोलबाट लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले कमल १ का दुई मतादन केन्द्रमा रहेका ५२ सय १२ मतदातामा खस्ने ६५ प्रतिशत मत मध्ये एमालेले ५० प्रतिशत मत प्राप्त गर्ने अवस्था रहेको भन्दै त्यसलाई ७० प्रतिशत पुर्याउन सबै लागिपर्नु पर्नेमा जोड दिनुभयो ।
वडा कमिटी अध्यक्ष राम पाठको अध्यक्षतामा सम्पन्न भेलामा एमालेका विभिन्न कमिटीमा रहेकाहरुका साथै स्थानीय कार्यकर्ताहरूको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।



