माघ १५– नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र तयारीको कामलाई तीव्रता दिएको छ। पार्टीले आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन, जनवर्गीय संगठन तथा विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ।
एमालेका प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार हालसम्म धेरैजसो क्षेत्रबाट प्राप्त सुझावहरू समेटेर घोषणा पत्र लेखन कार्य अघि बढाइएको छ। “अहिले हामी विभिन्न जनवर्गीय संगठन तथा सरोकारवाला क्षेत्रबाट आएका सुझावहरू समावेश गरेर मस्यौदा तयार गरिरहेका छौं,” शाहीले भन्नुभयो, “केही छुटेका क्षेत्रबाट पनि सुझाव सङ्कलन गरेर अन्तिम मस्यौदा तयार गर्नेछौं।”
उहाँका अनुसार पार्टीले सबै क्षेत्रबाट दुई–तीन चरणमा सुझाव सङ्कलन गरिसकेको छ। सुझावको आधारमा जनचासो, राष्ट्रिय आवश्यकता र समसामयिक मुद्दाहरूलाई घोषणा पत्रमा प्राथमिकता दिने तयारी गरिएको जनाइएको छ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
पार्टीले तयार पार्ने घोषणा पत्र आगामी निर्वाचनमा मतदातामाझ मुख्य राजनीतिक दस्तावेजका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

