चुनाव सुरक्षाका लागि आजदेखि सेना परिचालन, ८० हजार जनशक्ति खटिँदै

1 Min Read

माघ २१– प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ। सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालित भएका हुन्।
योजनाअनुसार नेपाल प्रहरी र ‘निर्वाचन प्रहरी’ ले मतदानस्थलको भित्री सुरक्षा सम्हाल्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। नेपाली सेनाले बाहिरी सुरक्षा घेरा सम्हाल्दै समग्र सुरक्षा व्यवस्थापनमा सहयोग गर्नेछ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि सेना परिचालन गरिएको छ। यसका लागि करिब ८० हजार सैनिक खटिने तयारी छ। आवश्यकताअनुसार सेनाका अस्थायी बेस खडा गरिने र संयुक्त गस्ती सञ्चालन गरिनेछ।
सेनाले मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा, मतपेटिका ओसारपसारलगायत जिम्मेवारी सम्हाल्नेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै विमानस्थल, कारागार तथा अन्य संवेदनशील संरचनाको सुरक्षामा पनि सेना परिचालित हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ११ गते मन्त्रिपरिषद्को सिफारिस तथा निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको थियो।

Share This Article
Leave a Comment