माघ २०- नेकपा (एमाले)का उपाध्यक्ष, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले देशको राष्ट्रियता, स्वाभिमान र लोकतन्त्र नै सङ्कटमा परेको दाबी गर्दै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालले मङ्गलबार आयोजना गरेको ‘चौतारी संवाद’ कार्यक्रममा बोल्दै उनले बाह्य शक्तिको चलखेल बढेको आरोप लगाए। उनले भने, “मुलुकको स्वाभिमान, लोकतन्त्र र राष्ट्रियता सङ्कटमा छ, यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ।”
नयाँ दलहरूसँग स्पष्ट विचार, दर्शन र नीति नभएको टिप्पणी गर्दै गुरुङले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दाबी गरे। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै उनले सुकुम्वासी र भूमिहीनका नाममा भ्रम फैलाइएको आरोप लगाए। “भ्रम बाँड्न सजिलो, काम गर्न गाह्रो हुन्छ,” उनले भने, “काठमाडौँमा सुकुम्वासीलाई हटाउने व्यक्तिले झापामा गएर लालपुर्जा बाँड्ने कुरा गर्नु हास्यास्पद हो।”
सुकुम्वासी तथा भूमिहीन समस्या समाधानका लागि एमालेसँग ठोस योजना रहेको उनको दाबी थियो। उनले एमाले नेतृत्वको सरकार ढाल्न ‘शक्ति केन्द्र’ सक्रिय भएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत एमालेविरुद्ध भ्रम फैलाइएको बताए। त्यसको प्रतिवादका लागि पार्टीले अभियान चलाउने पनि उनले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सरकारले अझ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि उनले गरे। सुरक्षा प्रबन्ध कमजोर भए स्वस्थ निर्वाचन सम्भव नहुने उनको भनाइ थियो।
राष्ट्रियता र लोकतन्त्र सङ्कटमा रहेको दाबी गर्दै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन पृथ्वी सुब्बा गुरुङको आह्वान
Leave a Comment
Leave a Comment

