झापा, २२ पुस । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्ब्याइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि लागू कर्फ्युको समयावधि बढाएर दिउँसो १ बजेसम्म कायम गरिएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिनुभयो।
कर्फ्यु लागू क्षेत्र पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।
आइतबारदेखि लगातार भइरहेको प्रदर्शनका कारण वीरगञ्जको अवस्था तनावग्रस्त बन्दै गएको प्रशासनले जनाएको छ।

