१३ भदौ , गौरादह । गौरादह नगरपालिकाभित्र यस वर्ष दिवङ्गत हुनुभएका नेवार समुदायका सदस्यहरूको स्मृतिमा आज परम्परागत गाईजात्रा निकालिएको छ।
नेवार समुदायमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै गाइजात्रा मनाउने परम्परा अनुसार नेवा: देय दबु गौरादह नगर समितीको समन्वयमा जात्रा निकालिएको हो । मृतक जनको तस्वीरसहित गाईको प्रतीक बनाएर गाईजात्रामा सहभागी गराउने परम्परालाई निरन्तरता दिँदै गौरादह नगरपालिकाका विभिन्न वडाबाट दिवङ्गत व्यक्तिका परिवारजनले तस्वीरसहित गाईजात्रा निकालेर सामूहिक रूपमा सहभागिता जनाएको नेवार समुदायका अगुवा ताराकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जात्रामा गौरादह नगरपालिकाका वडा नम्बर १, ४, ५ र ६ बाट यस वर्ष दिवङ्गत हुनुभएका नेवार समुदायका ९ परिवारका दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा आयोजना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । देशभरी छरिएर रहेको नेवार समुदायले गाईको प्रतीक तथा दिवङ्गत व्यक्तिको तस्वीरसहित आआफ्नो ठाउँमा निकालने गाइजात्रा गौरादहमा पनि बर्सेनि मनाउने गरिए अनुरुप आज गौरादहका बजारक्षेत्रमा सामूहिक रूपमा मृतक प्रती श्रद्धा तथा सम्झना व्यक्त गरिएको हो।

गाईजात्रालाई दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा मात्र नभई दुःखमा रहेका परिवारलाई समुदायको साथ र एकताको अनुभूति गराउने महत्वपूर्ण पर्वका रूपमा समेत लिइन्छ।
यस अवसरमा दिवङ्गत सबै आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनले उहाँहरूको चिरशान्तिको कामना गरेका छन्। साथै गाईजात्राले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ।


