निर्वाचनमा स्रोत अभाव हुन दिँदैनौँ : अर्थमन्त्री रामेश्वर खनाल

2 Min Read

८ फाल्गुन-  अर्थमन्त्री रामेश्वर खनालले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक आर्थिक व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने उहाँको भनाइ थियो।

अर्थमन्त्री खनालले अब सरकार आर्थिक एजेण्डामा केन्द्रित हुने समय आएको उल्लेख गर्दै राजनीतिक अस्थिरताको बहसबाट मुलुकलाई बाहिर निकाल्नु नै वर्तमान सरकारको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिनुभयो।
पर्यटन क्षेत्रको सन्दर्भमा बोल्दै उहाँले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। आगामी दिनमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक सहुलियत र नीतिगत सुधारमार्फत प्रवर्द्धन गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो।

सरकारले देशको अर्थतन्त्र उकास्न विविध नीतिगत सुधार र संरचनात्मक पहलहरू अघि बढाएको बताउँदै अर्थमन्त्रीले निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाइने जानकारी दिनुभयो। उहाँले औद्योगिक विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि आगामी योजना तथा कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
अन्तमा अर्थमन्त्री खनालले राष्ट्रिय अर्थतन्त्रको समग्र उन्नयनका लागि सरकारले सबै सम्भव उपाय अपनाउने र जनताको जीवनस्तर सुधार गर्नेतर्फ ध्यान केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

Share This Article
Leave a Comment