नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचनमा जाने निश्चित

1 Min Read

३० पुस- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमार्फत नै टुंगिने भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि नीति र नेतृत्व परिवर्तन निर्वाचनबाट गर्ने निर्णय स्पष्ट भएको हो ।
रातभर चलेका वार्ताहरू निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रिया अगाडि बढाएका छन् । प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले वार्ताको प्रयासलाई सम्मान गरिए पनि सहमति नभए कार्यक्रम यथावत् अघि बढ्ने बताए ।
मंगलबार बेलुकी पत्रकार सम्मेलन गर्दै पोखरेलले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि देउवा नेतृत्व छोड्न तयार नभएको अवस्था स्वीकार्य नरहेको बताए । उनले अब निर्वाचन प्रक्रिया मात्र बाँकी रहेको उल्लेख गरे ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन भएको छ । यससँगै पदाधिकारीको खाका तयारीमा नेताहरू जुटेका छन् ।
बुधबार बिहान पनि वार्ताको ढोका खुला राखिँदा निर्वाचन प्रक्रिया भने नयाँ तालिकाअनुसार अघि बढ्ने भएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार मनोनयन दर्ता बिहान ८ः१५ देखि ९ः१५ बजेसम्म हुनेछ ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन बुधबारसम्म लम्बिँदा प्रतिनिधिहरूले छिटो टुंगो लगाउन माग गर्दै विरोध गरिरहेका छन् । उनीहरूले गगन थापालाई नेतृत्वमा देख्न चाहेको बताएका छन् ।

Share This Article
Leave a Comment