पुस २९ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत कोत्रे पोल प्लान्टको स्टोरबाट विभिन्न परिमाणका पीभीसी तार हराएको पाइएको हो। केन्द्रका स्टोर प्रमुखले २०८० वैशाख ५ गते ७० मि.मि.को १७४ मिटर र १२० मि.मि.को ७४६ मिटर पीभीसी तार हराएको भन्दै कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए।
अनुसन्धानबाट उक्त तार हिनामिना गरी नेपाल विद्युत प्राधिकरणलाई हानी–नोक्सानी पुर्याएको ठहर गर्दै तत्कालीन केन्द्र प्रमुख सिंहसहित सहायक लेखा अधिकृत तथा स्टोर प्रमुख लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौँका सुरक्षा गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गरी उनीहरुविरुद्ध कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

