२८ वर्षपछि गुरु–शिष्य पुनर्मिलन : भद्रकाली माविका पूर्व शिक्षक–शिक्षिकालाई विद्यार्थीबाट सम्मान

1 Min Read

३० पुसझापा, गौरादह । भद्रकाली माध्यमिक विद्यालय, गौरादह–५ झापामा अध्यापन गराएका पूर्व शिक्षक–शिक्षिकालाई उनीहरूकै विद्यार्थीले विशेष कार्यक्रममार्फत सम्मान गरेका छन् । वि.सं. २०५४ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले आइतबार राष्ट्रिय एकता दिवसको अवसर पारेर २८ वर्षपछि शिक्षक–विद्यार्थी भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरी आफ्ना गुरु–गुरुआमालाई सम्मान गरेका हुन् ।


गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र संगौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक दिननाथ भण्डारी, सह–प्रधानाध्यापक प्रियविक्रम आङदेम्बेलगायत अध्यापन गराएका शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाइ, मायाको चिनो र उपहारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित शिक्षक–शिक्षिकामध्ये टंकबहादुर केसी, नरबहादुर कार्की, डिल्लीराम चुडाल, बालेश्वर झा, हरि पाठक, रेवलाल श्रेष्ठ, रामप्रसाद संगौला, टंक पाठक, खड्गप्रसाद सिटौला, हरिश्चन्द्र राजवंशी, केशवचन्द्र शर्मा, देवी भण्डारीलगायत डेढ दर्जन शिक्षक–शिक्षिका रहेका थिए ।


कार्यक्रममा वक्ताहरूले शिक्षकले दिएको शिक्षा र संस्कारकै कारण आफूहरू आज जीवनमा स्थापित हुन सकेको भन्दै गुरुहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । दीर्घकालपछि सम्पन्न पुनर्मिलनले शिक्षक–विद्यार्थी सम्बन्ध अझ सुदृढ बनेको सहभागीहरूको भनाइ थियो ।

Share This Article
Leave a Comment