जेठ ८ गते – स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र लालीबजारले प्रदर्शनको दुई सातामै पाँच करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले जेठ ७ गते बेलुकासम्म उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको हो । कम्पनीका प्रमुख तथा चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले १४ दिनको कमाइ उत्साहजनक रहेको बताउँदै तेस्रो सातामा पनि राम्रो व्यापार हुने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले दर्शकले चलचित्रको विषयवस्तु, सन्देश र कलाकारको अभिनय मन पराएको बताउनुभयो । चलचित्रले मनोरञ्जनसँगै शिक्षा र सामाजिक चेतनाको विषय उठाएको उहाँको भनाइ छ । अभिनेत्री स्वस्तिमा खड्काले देशभरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै चलचित्रको कथा, निर्देशन र कलाकारको अभिनयको प्रशंसा भइरहेको जानकारी दिनुभयो । चलचित्रमा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

