जेठ ३०– गौरादह। गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरको उद्यम विकास समिति सदस्य बलराम खरेलले खुल्ला बजार अर्थतन्त्रका कारण साना उद्यमीहरूलाई बजारीकरणमा समस्या रहेको बताउनुभएको छ।
गौरादह नगरपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जद्वारा शुक्रबार आयोजित ‘महिला उद्यमशीलता विकास र गौरादह नगरपालिका’ विषयक रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको जिज्ञासाको समाधान गर्दै वडाध्यक्ष खरेलले बहुराष्ट्रिय कम्पनीका झिल्के विज्ञापनले स्थानीय उत्पादनलाई छायामा पारिरहेको बताउनुभयो। नगरसँग सीमित स्रोत–साधन भए पनि स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने कार्यमा नगरले सक्दो प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
गौरादह नगरपालिकाकी उद्यम विकास सहजकर्ता सविता अधिकारीले नगरको उद्यम विकास शाखाबाट भइरहेका गतिविधिबारे जानकारी गराएर सुरु भएको कार्यक्रममा नमूना अचार उद्योग, गौरादह–५ की सञ्चालक एवं अचार तालिम प्रशिक्षक सकुन्तला प्याकुरेल घिमिरेले उत्पादित सामानलाई पैसामा रूपान्तरण गर्न नसके व्यवसायिक बन्न नसकिने बताउनुभयो। सामानको बजारीकरण नै सफलताको आधार भएको उहाँको भनाइ थियो।
कार्यक्रममा कोपिला नौमती बाजा समूह, गौरादह–७ की अध्यक्ष यसोदा दाहालले गौरादह–७ को कार्यक्रममार्फत तालिम लिएपछि थप तालिम हासिल गरी आफूहरू विभिन्न शुभकार्यमा नौमती बाजा बजाएर व्यवसायिक रूपमा आत्मनिर्भर बनेको बताउनुभयो। आफू कट्टर धार्मिक ब्राह्मण परिवारको सदस्य भए पनि परिवारलाई बुझाएर व्यवसायिक रूपमा अघि बढेका कारण अन्य महिला सदस्यहरूलाई समेत सहज भएको उहाँले बताउनुभयो।
गौरादह बजारमा कोसेली घर स्थापना गरी स्थानीय उद्यमीका उत्पादनको बिक्री–वितरण सुरु गरेको संकल्प उद्यमी महिला समूहकी अध्यक्ष रुक्मणी कोइरालाले उत्पादनको बजारीकरणका लागि नगरको सहयोगमा संकल्पले बिक्री कक्ष स्थापना गरेको बताउँदै सबै उद्यमीका उत्पादन उपलब्ध गराई सहकार्य गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा लगनशील सपिङ झोला लघु उद्यम समूहकी चन्द्रकला पाठक, सजिलो ब्याग लघु उद्यम समूहकी गोमा श्रेष्ठ लगायतले आफ्नो उद्यमको अवस्थाबारे जानकारी गराउँदै बजार व्यवस्थापनको समस्या तथा कच्चा पदार्थको महँगो मूल्य व्यवसायका लागि चुनौती भएको बताउनुभयो। बजार व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरी उद्यमीहरूमा हौसला जगाउन आवश्यक रहेकोमा उहाँहरूको जोड थियो।
सामाजिक व्यक्तित्व यज्ञराज भेटवालको समेत उपस्थिति रहेको कार्यक्रममा लघु उद्यमी सञ्जुमाया तामाङ, सौन्दर्यकला उद्यमी विमला ताजपुरिया लगायत सहभागी हुनुहुन्थ्यो।
एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक युवराज भट्टराईले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन स्टेसन संयोजक मञ्जु डाँगीले गर्नुभएको थियो भने प्राविधिक संयोजनमा रमिशा कुँवरले सहयोग गर्नुभएको थियो।

