समानुपातिक सिट बाँडफाँट: प्रतिनिधिसभामा ६ दलको प्रवेश, रास्वपाको सबैभन्दा ठूलो उपस्थिति

2 Min Read

फागुन २९— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ।
यसैगरी नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।
दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा प्रचलित निर्वाचन कानुनअनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ दललाई मात्रै समानुपातिक सिट बाँडफाँट गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम छनोट गरी आयोगसमक्ष बुझाउन पत्राचार गरिसकेको जनाएको छ। समानुपातिकतर्फको औपचारिक नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभामा ६ दलको उपस्थिति रहने निश्चित भएको छ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको सिट जोड्दा प्रतिनिधिसभामा रास्वपाको सबैभन्दा ठूलो उपस्थिति रहने देखिएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसद पाउनेछ।
त्यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहनेछन्। नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट हुनेछ भने नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सांसद रहनेछन्।
श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी ७ सांसद रहनेछन् भने राप्रपाबाट प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी ५ सांसद रहनेछन्।
यसका अतिरिक्त प्रतिनिधिसभामा एक स्वतन्त्र सांसद पनि रहने निर्वाचन आयोगले जनाएको छ।

Share This Article
Leave a Comment